मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

असोजयता भएको प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख, दाबी रकम ४ अर्ब १८ करोड

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ४ २०८२
असोजयता भएको प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख, दाबी रकम ४ अर्ब १८ करोड

कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबी परेको थियो। त्यसमा करिब चार करोड १४ लाख दाबी रकममध्ये कुल ४२ वटा दाबीको १९ लाख भुक्तानी भएको छ।

काठमाडौं- अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाख रुपैयाँबराबरको बीमा रकम भुक्तानी भएको छ।

बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमादाबी परेको थियो। त्यसमा कुल ४ अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको भुक्तानी भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीमध्ये ३३ वटाको भुक्तानी भएको छ। सम्पत्ति बीमामा तीन अर्ब ५८ करोड ३२ लाखबराबरको दाबी परेको थियो। प्राधिकरणका अनुसार सो दाबीमा नौ करोड ६४ लाखबराबरको भुक्तानी भएको छ।

त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिब ५१ करोड ५७ लाखमध्ये कुल सातवटा दाबीको नौ लाख बीमितलाई भुक्तानी भएको छ। कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबी परेको थियो। त्यसमा करिब चार करोड १४ लाख दाबी रकममध्ये कुल ४२ वटा दाबीको १९ लाख भुक्तानी भएको छ।

यस्तै, मोटर बीमा (निजी)तर्फ ४० वटा बीमा दाबीको करिब रु दुई करोड ८२ लाख दाबी रकममध्ये कुल १२ वटा दाबीको एक करोड २० लाख भुक्तानी भएको छ। सामुद्रिक बीमातर्फ चारवटा बीमा दाबीको ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये दुईवटा दाबीको तीन लाख दाबी रकम बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

यस्तै, मोटर बीमा (सार्वजनिक)तर्फ १० वटा दाबीको एक करोड १९ लाख र लघुबीमातर्फ दुईवटा दाबीको १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म सुरु नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ।


प्रकाशित : शुक्रबार, पुस ४ २०८२११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend