काठमाडौं- नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि पाँचवर्षे पर्यटन बजारीकरण रणनीति निर्माण गर्ने भएको छ। मूलतः उच्च खर्च गर्ने (‘हाई इन्ड’) विदेशी पर्यटक नेपाल भित्र्याउने उद्देश्यसहित कुन-कुन स्रोत बजारमा कसरी नेपालको पर्यटनको बजारीकरण गर्ने भन्ने विषयमा रणनीति केन्द्रित रहने बोर्डको तयारी छ।
रणनीतिले समग्र रूपमा विदेशी पर्यटकको संख्या बढाउन कस्ता ‘पर्यटन प्रडक्ट्स’लाई कुन तरिकाले प्रचार–प्रसार गर्ने भन्ने विषयलाई समेट्नेछ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘हाई इन्ड’ पर्यटक नेपालमा ल्याउने लक्ष्यलाई रणनीतिले मुख्य प्राथमिकतामा राख्ने बताए। 'कुन–कुन स्रोत बजारबाट यस्ता पर्यटक ल्याउन सकिन्छ भन्ने विषयलाई वर्गीकरण गरेर रणनीति तय गरिनेछ,' उनले भने।
बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहलगानीमा हाल बोर्डमार्फत दिगो पर्यटन परियोजना कार्यक्रम सञ्चालनमा छ। यही परियोजनाअन्तर्गत युएनडिपीसँगको सहकार्यमा पाँचवर्षे बजारीकरण रणनीति निर्माण गर्न लागिएको हो।
यसअघि बोर्डले पर्यटन क्षेत्रको प्रवर्द्धन, प्रचार–प्रसार र बजारीकरणका लागि दशवर्षे समग्र रणनीति (२००५-२०१५) र (२०१६-२०२५) तयार गरी कार्यान्वयन गरेको थियो।
साथै वार्षिक नीति तथा कार्यक्रमअनुसार पनि बोर्डले पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गर्दै आएको छ। तर, बजारीकरणलाई मात्र लक्षित गरेर पृथक पाँचवर्षे रणनीति भने पहिलो पटक बनाउन लागिएको बोर्डले जनाएको छ।
जोशीका अनुसार रणनीतिले नेपालको पर्यटनलाई हिमालमा मात्र सीमित नगरी विविध उत्पादनका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ। 'स्रोत बजारमा पर्यटकको रुचि बदलिएको छ। त्यसअनुसार लक्षित बजार र वर्ग पहिचान गरी कार्यक्रम सञ्चालन, नयाँ उपकरण र डिजिटल प्लेटफर्मको प्रयोग गर्ने गरी रणनीति बन्दैछ,' उनले भने।
दिगो पर्यटन परियोजनाअन्तर्गत अपि, कञ्चनजंघा र मनास्लुलाई राष्ट्रिय ट्रेलका रूपमा विकास गर्दै पर्यटनका अन्य विधामा पनि काम भइरहेको छ। बोर्डको मुख्य जिम्मेवारी नेपालको पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचार–प्रसार भए पनि हालसम्म बोर्डसँग छुट्टै बजारीकरण रणनीति भने थिएन।
यसैबीच, सरकारको १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) ले योजनाको अन्तिम वर्ष २०८५/८६ मा नेपालमा २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। योजनाअनुसार पर्यटकको औसत बसाइ १३ दशमलव १ दिनबाट १५ दिन पुर्याउने र प्रतिदिन खर्च ४० दशमलव ४ अमेरिकी डलरबाट ८५ अमेरिकी डलर पुर्याउने लक्ष्य निर्धारण गरिएको छ।
१६औं योजनाअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान २ दशमलव शून्य प्रतिशत रहेको छ भने करिब दुई लाख व्यक्ति यस क्षेत्रमा प्रत्यक्ष रूपमा रोजगारीमा संलग्न छन्।
१६औं योजनाअन्तर्गत पर्यटन क्षेत्रका प्रमुख सूचकहरू
| सूचक | २०७९/८० को अवस्था | २०८५/८६ को लक्ष्य |
|---|---|---|
| वार्षिक विदेशी पर्यटक आगमन (लाखमा) | ८.२ | २५ |
| पर्यटकको औसत बसाइ अवधि (दिन) | १३.१ | १५ |
| प्रतिपर्यटक प्रतिदिन औसत खर्च (अमेरिकी डलर) | ४०.५ | ८५ |
| कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान (प्रतिशत) | २ | ७ |
| भ्रमण तथा पर्यटन प्रतिस्पर्धी सूचकांक | ३.३ | ४ |
| द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुक (संख्या) | ४० | ४८ |
