पोखरा- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा बुधबार पोखरामा दोस्रो इन्डिया-नेपाल टुरिजम मिट आयोजना गरेको छ।
गण्डकी प्रदेशलाई विशेष प्राथमिकतामा राख्दै आयोजना गरिएको उक्त कार्यक्रम उत्तर प्रदेश र नेपालबीच पर्यटन प्रवर्द्धनमा केन्द्रित रहेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्ष पनि मनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा विशेषगरी पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतसँग बढ्दो पर्यटन सहकार्यको स्वागत गर्दै यसले दुवै देशका पर्यटन उद्योगलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे।
भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा आएको सुधारले अन्तरदेशीय पर्यटनलाई थप गति दिएको उल्लेख गरे। उनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्य समेटिएका पर्यटन परिपथ (सर्किट) हरुको संयुक्त प्रवर्द्धनमार्फत दुई देशबीचको पर्यटन सम्भावनालाई पूर्ण रुपमा उपयोग गर्न दुवै पक्षको सहकार्य अपरिहार्य रहेको बताए।
उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले आगामी माघ मेलालाई विशेष रुपमा उल्लेख गर्दै उत्तर प्रदेशका विभिन्न पर्यटन परिपथबारे प्रस्तुति दिए। साथै उनले पर्यटन नीतिको कार्यान्वयनमा उत्तर प्रदेशमा अपनाइएका उत्कृष्ट अभ्यासहरु पनि साझा गरे।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आफ्नो प्रस्तुतिमार्फत नेपालको पर्यटन क्षेत्रको समग्र अवस्था र सम्भावनाबारे जानकारी दिए। उनले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूमध्ये भारत सबैभन्दा ठूलो स्रोत देश रहेको उल्लेख गर्दै भारत-नेपाल पर्यटन प्रवर्द्धनका लागि बोर्डले सञ्चालन गरिरहेका विभिन्न पहलहरूको विवरण प्रस्तुत गरे।
कार्यक्रमको बीटुबी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना प्रतिनिधिहरू सहभागी थिए। छलफलमा विशेषगरी स्थल मार्गमार्फत हुने अन्तरदेशीय पर्यटन प्रवर्द्धन, बौद्ध परिपथ, वन्यजन्तु तथा साहसिक पर्यटनका क्षेत्रमा सम्भावित सहकार्यबारे टुर अपरेटरहरूबीच विचार-विमर्श गरिएको थियो।
यसै कार्यक्रमको एक भागका रूपमा पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डले उत्तर प्रदेश राज्यका प्रतिनिधिमण्डलका लागि मिति मंसिर २९ देखि पौष २ गतेसम्म पोखरा तथा आसपासका प्रमुख पर्यटन गन्तव्य समेटिएको परिचयात्मक भ्रमणको आयोजना गरेका थिए।