काठमाडौं- भारत सरकारको सहयोगमा संखुवासभाको चिचिला गाउँपालिका-३ मा विद्यालय भवन निर्माण गरिएको छ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत दिदिङ आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भई उद्घाटन गरिएको हो।
उक्त विद्यालय भवनको आज बिहीबार काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
विद्यालय भवन र अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो र यसको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको थियो ।
सन् १९६२ मा स्थापना भएको दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्यापन हुन्छ।
चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहायोगको प्रशंसा गरे।
उनीहरूले नयाँ पूर्वाधारले यहाँको सिकाइको वातावरणमा सुधार ल्याउने र यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे।