काठमाडौं- नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच व्यवसायको अवस्था र आगामी सम्भावना तथा आपसी हितका विषयमा बृहत् छलफल भएको छ।
बुधबार संघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष कमलेशकुमार अग्रवाल, अनरेरी उपाध्यक्ष अर्जुनप्रसाद शर्मा र उपाध्यक्ष सन्तोष पाण्डे सहभागी थिए।
संघको तर्फबाट अध्यक्ष शिवकुमार अग्रवाललगायत कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष शिवकुमार अग्रवालले नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी संघ क्रमशः ७५ र ५० वर्षको इतिहास बोकेका संस्थाहरू भएको र दुवैका सरोकारका विषय लगभग समान रहेकाले सहकार्य गरेर अघि बढ्ने संघको चाहना रहेको बताए।
व्यवसायीमा अन्योल छाएको अहिलेको अवस्थामा संघ सदस्यहरूको मनोबल उकास्न लागिपरेको पनि उनले बताए। यो बेला चेम्बरलगायत निजी क्षेत्रका संस्थाहरूको सहकार्यले व्यवसायीमा सकारात्मक ऊर्जा प्राप्त हुने उनले बताए।
चेम्बर निजी क्षेत्रको प्रभावशालीमध्येको एक संस्था रहेकाले अन्य संघसंस्थाले चेम्बरबाट सिक्दै अघि बढ्नुपर्ने र चेम्बरले उनीहरूलाई मार्गदर्शन गर्नुपर्ने बताए।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले अहिले मुलुकमा लगानीका लागि उपयुक्त समय आएको भन्दै सहभागी व्यवसायीलाई यो मौकाको सदुपयोग गर्न आग्रह गरे।
'लगानी गर्ने भनेकै यस्तै चुनौतीपूर्ण समयमा हो। व्यवसायीले चुनौतीभित्रै अवसर खोज्ने हो, अवसर हुने पनि चुनौतीभित्रै हो। अहिले जसले आँट गरेर लगानी गर्न सक्छ, त्यसले सफलता पाउँछ,' उनले भने, 'अहिले बैंकमा तरलता प्रशस्त छ। उनीहरू ऋण दिन तयार छन्। यो बेला सस्तो ब्याजदरको ऋण लिएर काम गर्नेले राम्रो प्रतिफल पाउँछ।'
उनले निजी क्षेत्रका संघसंस्थासँग हातेमालो गरेर अघि बढ्न चेम्बर तयार रहेको बताए।