बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बागमती प्रदेश सरकारले संकलन गर्‍यो ५ महिनामा १६ अर्ब ११ करोड रुपैयाँ राजस्व

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ३ २०८२
बागमती प्रदेश सरकारले संकलन गर्‍यो ५ महिनामा १६ अर्ब ११ करोड रुपैयाँ राजस्व

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद-बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेननी प्रदर्शनका क्रममा प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायतका कारणले अपेक्षाकृत राजस्व संकलन हुन नसकेको जनाइएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको ५ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशत अर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।  

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ। दुवै शीर्षकसहित बाँडफाँट चाुल आर्थिक वर्षमा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएकामा साउनदेखि मंसिरसम्ममा लक्ष्यको २८ दशमलव ६३ प्रतिशत अर्थात् ८ अर्ब ८४ करोड ४७ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सन्यालले जानकारी दिए। 

उनका अनुसार घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट ७ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ५ महिनामा १ अर्ब ६६ करोड ८५ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

सवारीसाधन जाँचपास, रूट अनुमति, सवारीचालक अनुमतिपत्र वितरण तथ नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट ८ अर्ब २५ करोड रुपैयाँ संकलन गर्ने अनुमान गरेकामा हालसम्ममा २ अर्ब ९५ करोड ८६ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

यसैगरी प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेकामा ३ अर्ब ६ करोड ८६ लाख ७१ हजार रुपैयाँ संकलन गरेको छ भने अन्तःशुल्क करबापत ४ अर्ब ३ करोड ७९ लाख ९ हजार रपैयाँ प्राप्त हुने अनुमान गरेकामा १ अर्ब ७ करोड २३ लाख ५९ हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ। 

संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत ४ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा ५ महिनामा ३८ दशमलव ३८ प्रतिशत अर्थात् ५ अर्ब ६८ करोड ७५ लाख ३० हजार रुपैयाँ प्राप्त भएको अधिकृत सन्यालले बताए। 

चालु आर्थिक वर्षमा प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्वबाट ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा लक्ष्यको ३१ दशमलव ४४ प्रतिशत अर्थात् १ अर्ब ५० करोड २१ लाख ९७ हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद-बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेननी प्रदर्शनका क्रममा प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायतका कारणले अपेक्षाकृत राजस्व संकलन हुन नसकेको जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , पुस ३ २०८२११:१४
  • सम्बन्धित विषय:

  • # राजस्व
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend