बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भोजपुर-खोटाङ सीमाको मनोरम पर्यटकीय स्थल तावाभञ्ज्याङ ओझेलमा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २ २०८२
भोजपुर-खोटाङ सीमाको मनोरम पर्यटकीय स्थल तावाभञ्ज्याङ ओझेलमा

भोजपुर- भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावाभञ्ज्याङ पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्द्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको सरोकारवाला बताउँछन्।

नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज (पिकनिक) खान आउने आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको तावाभञ्ज्याङ पछिल्लो समय विस्तारै चिनिन थालेको छ। तर, दीर्घकालीन योजना, पूर्वाधार विकास र प्रचार रणनीति नहुँदा यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन।

मनोरम दृश्यले भरिएको यो क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ लखर्क र खोटाङको साकेला गाउँपालिका-३ लाई जोड्ने महत्त्वपूर्ण स्थल हो। हरियाली वन, खुला फाँट, स्वच्छ हावापानी र टेम्के-सेल्मेको काखमा अवस्थित यस भञ्ज्याङले जोकोही पर्यटकलाई आकर्षण गर्ने स्थानीय बताउँछन्।

दुई जिल्लाको सिमानामा पर्ने यस क्षेत्रमा साकेला गाउँपालिकाले पछिल्लो समय विभिन्न भौतिक संरचना निर्माण गर्नुका साथै चियाखेतीको विस्तार सुरु गरेको छ। चिया बगान, खुला पार्क र प्राकृतिक दृश्यले तावाभञ्ज्याङको सौन्दर्य अझ बढाएको स्थानीयको भनाइ छ।

तावाभञ्ज्याङ नेपाल सरकारको 'घुम्नै पर्ने सय गन्तव्य' सूचीमा समावेश मुन्दुम पदमार्गको सुरु विन्दुसमेत भएकाले यसको ऐतिहासिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै छ। यति महत्त्वपूर्ण पहिचान हुँदाहुँदै पनि प्रचारप्रसारको कमीका कारण अपेक्षित संख्यामा पर्यटक भित्रिन नसकेको सरोकारवालाको गुनासो छ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तावा भञ्ज्याङ टेम्के-सेल्मेको काखमा अवस्थित महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको बताए। 'यो क्षेत्रमा भरपूर पर्यटकीय सम्भावना रहेको देखिन्छ,' उनले भने, 'केही संरचना निर्माणसँगै चियाखेती विस्तार भइरहेको छ, स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकाय मिलेर काम गर्न सके यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ।'

स्थानीयका अनुसार तावाभञ्ज्याङ र पाँचधारे क्षेत्र भोजपुर र खोटाङबीच लेकबेँसी कृषिउपजको विनिमय हुने प्रमुख केन्द्रका रूपमा परिचित छ। यहाँ महिनामा दुईपटक पाँचधारे बजार लाग्ने गर्दछ। फराकिला डाँडाकाँडा, रमणीय भू-दृश्य र प्रशस्त पर्यटकीय सम्भावना भएकाले पाँचधारे तथा तावाभञ्ज्याङलाई जोडेर दुई जिल्लाकै साझा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय जानकारको भनाइ छ।

प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण तावा भञ्ज्याङ र पाँचधारे क्षेत्रको व्यवस्थित विकास र प्रभावकारी प्रचारप्रसार गर्नसके भोजपुर तथा खोटाङ दुवै जिल्लाको पर्यटन विकासमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : बुधबार, पुस २ २०८२१४:४३
  • सम्बन्धित विषय:

  • # तावाभञ्ज्याङ
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend