बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २ २०८२
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी- सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्। विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरू पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन्। मंसिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्न उनीहरू भदौ-असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन्। 

झण्डै २० जनाको समूहमा गाउँकै ठेकेदारमार्फत बेनी नगरपालिका-४ बास्कुनामा सुन्तला टिप्न आएका धादिङको रुबीभ्याली गाउँपालिका-५ रिका दिलीप घलेले सुन्तला टिप्ने कामबाट मौसमी रोजगारी मिलेको बताए। 

'पढाइ र घरखर्च चलाउने पैसा जुटाउनका लागि सुन्तला टिप्न आएको हो,' 'तीन महिना काम गरेपछि घर फर्किएर ११ कक्षाको पढाइलाई निरन्तरता दिने हो।'

यहाँका बगैँचामा सुन्तला टिप्न आउनेमा अधिकांश धादिङ र गोरखाका मजदुर छन्। जिल्लाभर २ सय भन्दा बढीले सुन्तला टिप्ने रोजगार पाएका बताइएको छ। यहाँका बगैँचामा फलेका सुन्तला टिप्ने र बजार पठाउन हिजोआज किसान तथा मजदुरलाई भ्याइनभ्याइ छ। सुन्तला टिप्ने काम गर्ने उनीहरूले खाना खाएर मासिक १५ रुपैयाँदेखि २० हजार रुपैयाँसम्म तथा दैनिक ७ सय रुपैयाँ देखि ८ सय रुपैयाँसम्म ज्याला पाउने गरेका छन्। 

बोटमा सुन्तला टिप्न, ग्रेडिङ, गाडीमा लोड र अनलोड गर्न मजदुरको आवश्यकता पर्छ। सुन्तलाखेती गरेका किसानका साथै स्थानीय र अन्य जिल्लाका मजदुरहरूलाई रोजगारी मिलेको बेनी-३ राखुकी भवीकला रानाले बताइन्। 

गत वर्ष म्याग्दीबाट ३३ करोड रुपैयाँबराबरको चार हजार ७ सय ८१ मेट्रिकटन सुन्तला बिक्री भएको थियो। जिल्लाभर ८ सय १० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा ४ सय २५ हेक्टरमा फल लाग्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ। कार्यालय प्रमुख सञ्जीव बास्तोलाले यस वर्ष पनि गत वर्षको मात्रामा सुुन्तला उत्पादन हुने अनुुमान गरिएको बताए।

राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन्। जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन्। रासस


प्रकाशित : बुधबार, पुस २ २०८२१४:२५
  • सम्बन्धित विषय:

  • # सुन्तला
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend