काठमाडौं- नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँबराबरको 'नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर' बाँडफाँट गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट गरिएको बैंकले जनाएको छ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाट गरेको हो। संस्थागत लगानीकर्ताहरूलाई परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदनबमोजिम अग्राधिकार सेयर बाँडफाँट गरिएको हो।
नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको हो। अविमोच्य असञ्चिति अग्राधिकार सेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभांश पाउने विशेषता भएको पुँजीबजार उपकरण हो।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।


