मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २ २०८२
टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ

नेपाल-भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयामा तीन सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था रहेको छ।

कञ्चनपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन्।

राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्धिपक्षीय भेटमा निरन्तरता छलफल भैरहेकाे बताएका हुन्

कञ्चनपुरकाे सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा नहर बनिसकेकाले भारतकातर्फबाट पानी छोड्ने निर्णय आउने विश्वास व्यक्त गरे।

नेपाल-भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयामा ३ सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था रहेको छ। 

सन्धि बमोजिम पानी उपयोगिता गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन्। करिब ९ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रुपमा आलोचना हुने गरेको छ। पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ। 

महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ। आयोजनाको कुल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ।


प्रकाशित : बुधबार, पुस २ २०८२१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend