संखुवासभा- संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख काटिएको छ।
भोटखोला गाउँपालिका-२ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन्। माथिल्लो अरुण आयोजना र पहुँचमार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी चन्द्रलाल राईले बताए।
माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि भोटखोला-४ मा राष्ट्रिय वन र भोटखोला-२ मा पारीपाखा सामुदायिक वन र माक्पालुङ सामुदायिक वन क्षेत्रको करिब २१ दशमलव राईले जानकारी दिए। उक्त आयोजनाले २५ वर्षसम्म वन क्षेत्र प्रयोगका लागि अनुमति पाएको छ। यो सँगै माथिल्लो अरुण आयोजनाका लागि पहुँचमार्गको काम द्रुत गतिमा अघि बढेको छ।
प्राधिकरणले २ दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतको गायत्री जेभी र झापाको कन्काइ सुरुंगा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम सुरु गरेको छ। पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । पहुँच मार्ग भोटखोला गाउँपालिका४ छोराङदेखि भोटखोला-२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । सात अर्ब ९१ करोड ३९ लाख रुपैयाँमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी जिल्लामा विभिन्न जलविद्युत आयोजना निर्माणका लागि हालसम्म लागि १४ हजारभन्दा बढी रुख काटिसकिएको छ। अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि १८ सामुदायिक वनका १४ हजार ६२७ रुख कटान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार ११ वटा जलविद्युत् आयोजनाले जिल्लाका ६ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन्। विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका पाँच हजार ४०० रुख काटिएका छन्। रासस
