बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २५ २०७८
images
बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने
images
images

बलेवा- निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ। नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन्।

images
images
images

तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो। चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका-१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिए।

images
images

यो विमानस्थलमा साना तथा मझौला जहाज अवतरण गर्न सक्छन्। 'सिङ्गो एअरपोर्ट एक प्रतिशत मात्रै स्लोपको छ, त्यसैले यहाँ दुवै साइटबाट जहाज अवतरण गर्न सक्छन्,' थापाले भने, 'निर्माणका क्रममा हामीले यो अवस्थामा ल्याउने गरी काम गरेका छौँ।' कालोपत्र गुणस्तरीय रुपमा गरिएको उनले जानकारी दिए। प्राधिकरणको ८ करोड २४ लाख ३४ हजार रूपैयाँमा कालोपत्र गरिएको हो।

images
images

बलेवा विमानस्थल सात सय मिटर लामो कालोपत्र गरिएको छ। प्राधिकरणका परियोजना व्यवस्थापक सत्यनारायण दुवालले विमानस्थलको नियमित अनुगमन गरेको बताए।

'कोरोनाले समस्या भएर ढिला भए पनि अहिलेको काम सन्तोषजनक छ,' उनले भने, 'चैत मसान्तमा हस्तान्तरण भएपछि हवाई उडानबारे काम सुरु हुनेछ।' यो विमानस्थल सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई राजधानी र भैरहवा लगायतका स्थानमा हवाई मार्गले जोड्नेछ।

बलेवा क्षेत्रका नागरिकले श्रमदानबाट थालेर विसं २०१६ देखि २०१८ सम्म यो मैदान बनाएका थिए। आठ सय मिटर लामो यो विमानस्थलमा २०५० सम्म नियमित जहाज उड्थे। बलेवाबाट काठमाडौँ, पोखरा र भैरहवाका नियमित उडान भइरहेकामा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको बागलुङ नगरपालिका-१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए।

विमानस्थलमा ७ सय मिटर लामो पक्की नालीसमेत बनेको छ। मैदानमा १ हजार ५ सय मिटर लामो घेराबार बनाइएको छ। एउटा मुख्य गेट र अर्को आपत्कालीन गेट तयार भएको छ। मैदानको सबै भाग एक किमी लामो छ तर हाल ७०० मिटर लामो क्षेत्रमा तारबार लगाइएको हो। मैदान ६० मिटर चौडा सम्याइएपछि १८ मिटर कालोपत्र भएको हो।

यो विमानस्थल सञ्चालनका लागि बागलुङ बजारदेखिको आठ किमी सडक कालोपत्र गर्नुपर्ने स्थानीयवासी सुमन भुसालले बताए।

'सरर ट्याक्सीमा जानसक्ने गरी सडक कलोपत्र नगर्दासम्म यो विमानस्थल सञ्चालनमा ल्याउन पनि कठिन छ, विमानमा झरेपछि या विमान चढ्न जान खाल्डाखुल्डीको सडक सहज छैन,' उनको भनाइ छ। हाल कालीगण्डकी करिडोर निर्माणाधीन छ तर नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेपछि भने स्तरोन्नतिको काम पनि ठप्प छ। रासस


प्रकाशित : बुधबार, फागुन २५ २०७८१०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend