काठमाडौं- नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरूलाई परिसंघले सम्मान गरेको हो।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो। तिनै उच्च करदाताहरूलाई निजी क्षेत्रको तर्फबाट परिसंघले सम्मान गरेको हो।
वस्तु निर्यातको कारोबार गर्नेमध्येबाट डाबर नेपाल प्रालि, विशेष उद्योगहरूमध्ये युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायमध्येबाट सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्नेमध्येबाट भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमध्येबाट भोटेकोशी पावर कम्पनी प्रालि सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा परिसंघले सम्मान गरेको हो।
यस्तै कृषि एवं पशुपक्षीजन्य उद्योगहरूमध्येबाट पोषक ब्रिडर फार्म प्रालि, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्येबाट भेरिस्क नेपाल प्रालि. एकलौटी फर्महरूमध्येबाट थर्ड आई इन्टरनेशनल, बैंक-वित्तीय संस्था र बीमाको कारोबार गर्नेमध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूध्येबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल परिसंघबाट सम्मानित भएका हुन्।
यसैगरी रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्येबाट आईएमई लिमिटेड, सरकारी निकायहरूमध्येबाट नेपाल दूरसचार प्राधिकरण, वार्षिक ५० करोड रुपैयाँभन्दा बढी
एक अर्ब रुपैयाँसम्म कारोाबर गर्ने कारदातामध्येबाट सीडीएस एण्ड क्लियरिङ लि, वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्नेकरदातामध्येबाट भीएफ सर्भिसेज (मोरिसस) प्रालि सम्मानित भएका छन्।
वि.सं. २०७६ साउनदेखि २०८२ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदातामध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राज हादुर शाहलाई परिसंघले सम्मान गरेको हो। शाह परिसंघका उपाध्यक्षसमेत हुन्।
आज मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरे। सो अवसरमा उनले सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रति महत्त्वपूर्ण योगदानसमेत भएको बताए। उच्च करदाताको रूपमा राज्यलाई गरेको योगदानको कदर गर्दै परिसंघले पनि सम्मान गरेको उनले बताए।
उच्च करदाता सम्मान कार्यक्रममा परिसंघका उपाध्यक्षहरू राजबहादुर शाह, हेमराज ढकाल, अमित मोर, गभर्निङ काउन्सिल सदस्य विजय शाह, राजस्व समिति सभापति गोपालकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए।