मुस्ताङ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरनजिकैको झारकोट गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेलमा परेको छ। मुक्तिनाथ मन्दिरनजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ झारकोट पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो।
वारागुङ मुक्तिक्षेत्रस्थित मुक्तिनाथ मन्दिरको काखैमा चारवटा गाउँ छन्, यसमध्ये सबैभन्दा बाक्लो बस्ती र पुरानो गाउँ हो झारकोट गाउँ। यहाँस्थित मुक्तिनाथको काखमा झारकोटसहित पुराङ रानीपौवा, खिंगा र छेंगुरगाउँ पर्दछन्। यी गाउँमध्ये सबैभन्दा धार्मिक तीर्थालुको आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल निकै हुने गर्छ। झारकोटसहित अरू गाउँमा भने पर्यटन गुमनामजस्तै हुन्छ। कागबेनी-मुक्तिनाथ सडकखण्डसँगै जोडिएको झारकोट पर्यटनका हिसाबले सबैभन्दा पछि परेको छ।
तत्कालीन समयमा यहाँको कागबेनी-मुक्तिनाथ जाने सडकमार्ग नहुँदा पुरानो झारकोट गाउँमा पर्यटकको चहलपहल हुन्थ्यो। सडक नहुँदा मुक्तिनाथ दर्शन गर्ने धार्मिक तीर्थालुहरू र मनाङ हुँदै थोरङ्लापास गर्ने विदेशी पर्यटक झारकोट गाउँभित्रको गोरेटो बाटो हिँडेर आवतजावात गर्थे। मुक्तिनाथ दर्शन गर्न आएका तीर्थायात्री र विदेशी पर्यटक झारकोट गाउँको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यता नियाल्थे। पैदल आएका तीर्थायात्री यहाँको गाउँमा खाजा खाना र बाँस बस्थे। त्यतिबेलाको अवस्थामा झारकोट गाउँमा स्थानीयको व्यापार व्यवसाय पनि राम्रै चलेको थियो। तर, अहिले झारकोट गाउँभित्रको गोरेटो पदमार्ग बिरानो बनेको छ। पछिल्लो एक दशकयता गाउँभित्रको गल्ली गोरेटो बाटो स्थानीयवासीको आवतजावतका लागि मात्र सीमित बनेको छ।
कागबेनी-मुक्तिनाथ सडक र यस गाउँको आवश्यक प्रचारप्रसार नहुँदा झारकोट ओझेलमा परेको स्थानीय धेचआङ्मो गुरुङले जानकारी दिए। उनका अनुसार गाउँको विकासका लागि युवा जनशक्ति विदेश पलायन हुँदा पर्यटन प्रवर्द्धन हुन नसकेको हो। कागबेनी-मुक्तिनाथ सडकमार्गमै पर्ने झारकोट मुक्तिनाथ मन्दिरको काखैमा भए पनि पर्यटन क्षेत्रबाट कुनै फाइदा लिन नसक्ने अवस्था रहेको गुरुङको भनाइ छ।
झारकोट गाउँ विगत डेढ दशकदेखि पर्यटनका हिसाबले गुमनामजस्तै छ। बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक झारकोट गाउँनजिकैको सडकमार्ग हुँदै मुक्तिनाथ आवतजावत गर्ने भए तापनि झारकोट गाउँमा पर्यटकको उपस्थिति शून्य रहेको स्थानीय गुरुङको दुखेसो छ।
'दिनहुँ सयौँ तीर्थयात्री हाम्रै गाउँको बाटो ओहोरदोहोर गर्छन्, कति आए कति गए पत्तै हुन्न,' स्थानीय गुरुङले भने, 'तीर्थयात्री र पर्यटक सिधै आउँछन् जान्छन्, हामी त हेरेको हेर्यै मात्र।'
प्राचीन बस्ती झारकोटमा ६० घरपरिवार छन् । पहिला सडक नहुँदा गाउँका अधिकांश युवा गाउँ थिए। सडकको विकासले यस गाउँको रोजीरोटीमा नराम्रो धक्का पुग्यो। डेढ दशकअघि निकै चहलपहल हुने झारकोट पछिल्लो समय सुनसान बनेको स्थानीय धेचआङ्मो गुरुङको भनाइ छ। गाउँमा आम्दानी गर्ने माध्यम गुम्न थालेपछि गाउँका युवायुवती एकपछि अर्को गर्दै गाउँ छाडेर विदेश पलायन हुन थालेको उनको भनाइ छ।
यतिबेला झारकोट गाउँमा युवायुवतीको संख्या एकदमै कम छ। अधिकांश युवायुवती वैदेशिक रोजागारका लागि युरोप र अमेरिका भासिँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकको संख्या बढिरहेको स्थानीयवासी गुरुङले बताए।
'हाम्रो गाउँतिर सडक विकास भयो। केही गर्न सक्नेलाई अवसरको ढोका पनि खुला छ। तर, विकासलाई समृद्धिमा बदल्ने युवायुवती नै बाहिर पुगिसके। अब गाउँको आर्थिक विकास कसले गरिदेला र?,' उनले भने।
यहाँको ऐतिहासिक झारकोट गाउँका स्थानीयले आंशिक खेतीपाती र पशुपालन व्यवसाय गरी जीविकोपार्जन गर्ने गरेको स्थानीय नम्डुल गुरुङले जानकारी दिए। यहाँ केहीले याक र घोडाको व्यापार गर्ने गरेको स्थानीय गुरुङको भनाइ छ।
पछिल्लो समय मुक्तिनाथ मन्दिरनजिकैको चार गाउँका मानिसले घोडाबाट मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरूलाई घोडा चढाएर आयआर्जन गर्ने गरेका छन्। जसमध्ये झारकोटमा पनि केही युवाले मुक्तिनाथमा घोडालाई यात्री ओसारपसार गरी सशुल्क सेवा दिइरहेको स्थानीय गुरुङले बताए। वर्षभरिको खेतीपाती र पशुपालन व्यवसायले वार्षिक गर्जो टार्न मुस्किल भएकाले वैकल्पिक व्यापार व्यवसायको भर पर्नुपरेको गुरुङले बताए।
वारागुङ मुक्तिक्षेत्र-१ स्थित यहाँको झारकोट गाउँमा सदियौँ पुरानो ऐतिहासिक राजाको दरबार अवस्थित छ। प्राचीनकालमा निर्माण भएको यहाँ अवस्थित साढे तीनतले झारकोट राजाको दरबार यहाँको पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा रहेको यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए। यहाँको दरबारमा तत्कालीन झारकोट राजाका पछिल्ला पुस्ताले बस्ने र दरबारको भोगचलन गर्दै आइरहेको उनले बताए।
यहाँ सदियौँ वर्ष पुरानो झार छोदे गुम्बा अवस्थित छ। त्यसैगरी झारकोट गाउँमा कुनै व्यक्तिको मृत्यु भएमा उसको शवलाई गाउँभित्र रहेको (केनिल) मुनिबाट लगेर दाहसंस्कार गर्ने प्रचलन छ। झारकोट गाउँनजिकै गुरु सेप्ची छ। जहाँ ढुंगामा कुँदिएका जस्ता गुरु पद्ममसम्भवका पाइलाको डोब देख्न सकिन्छ।
यहाँ प्राचीनकालमा निर्माण भएका ढुंगा र माटोले निर्मित पुराना घर अझै जीवन्त छन्। गाउँमाथि केही पर तोराताल अवस्थित छ। तालवरपर प्राकृतिक वनस्पति सिवकर्थोन अर्थात् स्थानीय भाषामा (तोरा) पाइने भएकाले त्यहाँको ताललाई तोराताल भनिएको हो।
पछिल्लो समय त्यहाँ स्थानीयले तालवरपर लुङ्ता झण्डा गाडेर निकै आर्कषक बनाएका छन्। मुक्तिनाथ आएका पर्यटक तोराताल अवलोकन गर्न जाने गरेका वडाध्यक्ष गुरुङले बताए। पछिल्लो समय झारकोटस्थित गुम्बा संरक्षणका लागि प्रदेश र पालिका सरकारले बजेट विनियोजन गरेर संरक्षण तथा संवर्द्धन गर्दै आइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ। रासस
