काठमाडौं- नेपाली बजारमा लगातार दुई दिनसम्म उच्च बिन्दुमा पुगेर कीर्तिमान बनाएको सुनको मूल्य घटेको छ।
साताको पहिलो र दोस्रो कारोबार दिन आइतबार र सोमबार लगातार रेकर्ड बनाएको सुनको मूल्य आज मंगलबार भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ कायम भएको छ।
सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो।
सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ थियाे, जुन हालसम्मकै उच्च मूल्य हो।
त्यसअघि आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ। सोमबारको तुलनामा १५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला तीन हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य प्रतितोला तीन हजार आठ सय ७० रुपैयाँ थियो।
गएको शुक्रबार चाँदीको मूल्य तीन हजार नौ सय पाँच रुपैयाँ थियो, जुन अहिलेसम्मको उच्च हो।


