काठमाडौं- ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौँदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ। ठेक्का तोडिएका आयोजनाहरूको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ छ।
बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी-मरिनको एक गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो।
भेरी-बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का टोडिएको छ । जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँबराबरको ठेक्का तोडिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यसपछि कार्यालयलहरूले वर्षौंदेखि समस्याग्रस्त ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएका थिए।
जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत चालु ठेक्का २१५ छन्। तीमध्ये ३३ ठेक्का समस्याग्रस्त छन्। समस्याग्रस्तमध्ये हालसम्म २२ वटा ठेक्का तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए।
सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तोडिएको छ। आयोजनाको बाँध (हेडवर्क्स),विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल-रमण जेभी, जनकपुर-९ धनुषासँगको ठेक्का सम्झौता तोडिएको हो ।
आयोजना निर्माणका लागि पटेल-रमण जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो।