काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारको राजस्व संकलन लक्ष्यअनुसार अघि बढ्न सकेको छैन। वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकोमा मंसिर २९ गतेसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ।
अर्थ मन्त्रालयका तथ्याङ्कअनुसार मंसिरसम्मको राजस्व लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ तोकिएको थियो। तर सो अवधिमा लक्ष्यको ७८.७४ प्रतिशत मात्र राजस्व उठ्न सकेको छ। लक्ष्यभन्दा करिब १ खर्ब १० अर्ब रुपैयाँ कम संकलन भएको देखिन्छ।
मंसिर महिनामा ९५ अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ८० अर्ब २७ करोड रुपैयाँ उठेको छ, जसको प्राप्ति प्रतिशत ८४.३१ रहेको छ। मंसिर २९ गते एकै दिन ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा चालु वर्षको राजस्व संकलन केही बढे पनि लक्ष्यअनुसारको गति अझै कमजोर देखिन्छ। २०८१/८२ मा मंसिर २९ गतेसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
अर्थतन्त्रमा देखिएको सुस्तता, आयात वृद्धि अपेक्षाकृत कमजोर रहनु तथा कर आधार विस्तार हुन नसक्नुले चालु वर्षको राजस्व लक्ष्य हासिल गर्न चुनौती थपिएको छ।