मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २९ २०८२
राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी

उक्त समझदारीअनुसार आईएफसीले नेपालमा जलवायु वित्त विकासको निम्ति राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गराउनेछ। उक्त परियोजनाअन्तर्गत जलवायु वित्तसम्बन्धी रणनीति र यसको मार्गचित्रको मस्यौदा तयार गरिनेछ।

काठमाडौं- नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सझदारीपत्रमा कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र आईएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गरे। 

उक्त समझदारीअनुसार आईएफसीले नेपालमा जलवायु वित्त विकासको निम्ति राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गराउनेछ। उक्त परियोजनाअन्तर्गत जलवायु वित्तसम्बन्धी रणनीति र यसको मार्गचित्रको मस्यौदा तयार गरिनेछ। साथै उक्त रणनीतिलाई चरणबद्ध रूपमा कार्यान्वयनका निम्ति सोसम्बन्धी ढाँचासमेत तयार गरिने जनाइएको छ। 

'यसअन्तर्गत जलवायु वित्तको रणनीति तर्जुमा र कार्यान्वयनका सन्दर्भमा राष्ट्र बैंकको र समग्र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिका निम्ति आईएफसीले तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन हुनेछन्,' राष्ट्र बैंकले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

उक्त परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायुसम्बद्ध वित्तीय जोमिखलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ। उक्त परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणका निम्ति आइएफसी र राष्ट्र बैंकबीच विगतदेखि सहकार्य हुँदै आएको उल्लेख गरे। उनले नयाँ समझदारीबाट नेपालमा जलवायु वित्तको नीतिगत विकास र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यसैगरी आईएफसीका व्यवस्थापक स्मिथले राष्ट्र बैंकसँगको साझेदारीबाट नेपालमा जलवायु वित्तको रणनीतिक विकास र कार्यान्वयन दिशामा परिणाममुखी उपलब्धि हासिल हुने अपेक्षा राखे। रासस


प्रकाशित : सोमबार, मंसिर २९ २०८२१८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend