मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति सिबिफिनको आपत्ति, दोषीलाई कडा कारबाही गर्न माग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २९ २०८२
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति सिबिफिनको आपत्ति, दोषीलाई कडा कारबाही गर्न माग

मंसिर २५ गते कर्जासम्बन्धी कामका लागि पुगेका बैंकका कर्माचारीमाथि ऋणी र उनीहरूका आफन्तले कालोमोसो दलिदिएर कुटपिट र गालीगलौज गरेका थिए। यस्तै जुत्ताको मालासमेत लगाइदिएका थिए।

काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) ले ज्याेति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारको घटनाप्रति आपत्ति जनाएको छ। 

सोमबार एक विज्ञप्ति जारी गर्दै सिबिफिनले सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरू कर्जा असुलीसम्बन्धी कामका लागि फिल्डमा जाँदा भएको दुर्व्यवहारको घटनाको भर्त्सना गरेको हो। 

म‌ंसिर २५ गते कर्जासम्बन्धी कामका लागि पुगेका बैंकका कर्माचारीमाथि ऋणी र उनीहरूका आफन्तले कालोमोसो दलिदिएर कुटपिट र गालीगलौज गरेका थिए। यस्तै जुत्ताको मालासमेत लगाइदिएका थिए।

सिबिफिनले स्थानीय सुरक्षा निकायले तत्काल अनुसन्धान गरी दाेषीलाई कारबाही गर्नुपर्नेमा पीडित पक्षले दिएको जाहेरीसमेत दर्ता नगरेको तथा मिलापत्रका लागि दबाद दिएको भन्दै आपत्ति जनाएको छ। साथै दाेषीहरूलाई कडा कारबाही गर्न पनि सिबिफिनले माग गरेको छ।

'यस्तो आपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गर्दै दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सिबिफिन कडा आपत्ति प्रकट गर्दछ,' सिबिफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'निहित स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता अत्यन्तै संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र कर्तव्यनिष्ठ कर्मचारीहरूको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने गरी घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरूलाई हदैसम्मको कारबाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौँ।'

बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए बैंक तथा वित्तीय संस्थाको माथिल्लो व्यवस्थापनसमक्ष वा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाइसमक्ष समेत उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि कानून हातमा लिएर घटना घटाइएको भन्दै सिबिफिनले भनेको छ, '...यस प्रकारका निन्दनीय कार्यले बैंकिङ क्षेत्र मात्र नभई समग्र मुलुककै भविष्य अन्धकारतर्फ धकेलिन सक्नेतर्फ संवेदनशील भइदिन सरोकारवाला सम्पूर्ण पक्षहरूमा हार्दिक अनुरोध गर्दछौँ। साथै बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन र बैंकिङ सेवालाई निर्वाध रूपमा सञ्चालन हुने सुरक्षित वातावरण निर्माण गर्न संघीय, प्रदेश, स्थानीय सरकार र गृह मन्त्रालयसहित जिम्मेवार सम्पूर्ण निकायहरूसमक्ष हार्दिक अपिलसमेत गर्दछौँ।'


प्रकाशित : सोमबार, मंसिर २९ २०८२१७:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend