बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तनहुँमा मन्त्री कुलमानसमक्ष स्थानीयको गुनासै गुनासो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २९ २०८२
तनहुँमा मन्त्री कुलमानसमक्ष स्थानीयको गुनासै गुनासो

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हालेका मन्त्री कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो।

तनहुँ- भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हालेका मन्त्री कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो। 

जिल्लास्थित शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाका जनप्रतिनिधि एवं स्थानीयवासीले मन्त्री घिसिङलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै अलपत्र विकासे आयोजनामा बजेट विनियोजन गरी काम अगाडि बढाउन आग्रह गरेका छन्।

मन्त्री घिसिङलाई भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फतका विभिन्न योजनाका बारेमा ज्ञापनपत्र बुझाइएको छ। व्यास नगरपालिका-१३, बेलबासका स्थानीय यमबहादुर आलेले तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित १७० घरधुरीलाई मुआब्जा दिलाउन मन्त्री घिसिङसमक्ष आग्रह गरे। आलेले तनहुँ जलविद्युत आयोजनाले यस ठाउँ बाढीको जोखिममा रहेको र पुनर्वासका लागि मुआब्जाको सुझाव भइसकेकाले तत्काल स्थानीयवासीको माग सम्बोधन गर्न घिसिङको ध्यानाकर्षण गराए। 

घुमाउने पुल संघर्ष समितिका संयोजक सिद्धान्त थापामगरले आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ जोड्ने घुमाउने पुल ११ वर्षदेखि अलपत्र रहेकाले यस विषयमा मन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत गरेका छन्। ११ वर्षको अवधिमा ३० प्रतिशत मात्रै प्रगति भएको भन्दै मगरले यस पुल नहुँदा यस भेगका हजारौँ जनता मारमा परेको उल्लेख गरे।

उनले भने, 'विकासको दृष्टिकोणले जनताको भावना चाहनाअनुसार पुल निर्माण हुनु अति आवश्यक छ। हामीले विभिन्न संघर्षका कार्यक्रम गरिरहेका छाैँ। जसरी हुन्छ यहाँ पुलको अति आवश्यक छ। यस विषयमा मन्त्रीज्यूलाई गम्भीर ध्यानाकर्षण गराउँदछौँ।'

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटकीय नगरी बन्दीपुर बजारमा विद्युत्को भूमिगत तार विस्तार गर्नुपर्ने भन्दै मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाए। बन्दीपुरमा विदेशी तथा स्वदेशी पर्यटकको बाक्लो चहलपहल हुने भन्दै यसको सौन्दर्यताका लागि यो अति आवश्यक रहेको मन्त्रीसमक्ष ध्यानाकर्षण गराए।

उनले बन्दीपुर ढाडखोला घुमाउने सडकमा बजेट विनियोजन, पिप्लेदेखि बन्दीपुरसम्म जाने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिदिन मन्त्रीसमक्ष माग गरे। व्यास नगरपालिका-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले मानुङकोट जाने बाटोमध्ये करिब दुई किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेकाले त्यसतर्फ मन्त्रीसमक्ष ध्यानाकर्षण गराउँदै मागपत्र बुझाए। 

देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले देवघाटका विभिन्न ठाउँमा सिँचाइ योजनाका लागि बजेटका लागि आग्रह गरे। 

शुक्लागण्डकीमा आयोजित कार्यक्रममा दुलेगौडा हर्कपुर मोटरमार्ग निर्माण संघर्ष समितिका संयोजक राजन रिमालले अलपत्र रहेको दुलेगौडा हर्कपुर मोटरमार्ग निर्माण कार्य तत्काल अगाडि बढाउन मन्त्री समक्ष मागपत्र प्रस्तुत गरे। वि.सं. २०५२ मा प्रारम्भ भएको दुलेगौडा हर्कपुर मोटरमार्ग विगत लामो समयदेखि शंकरमाली कन्स्ट्रक्शनमार्फत निर्माण कार्य अगाडि बढाए पनि हालसम्म अलपत्र रहेको रिमालले उल्लेख गरे। 

भिमादमा नगरप्रमुख दधिराज सुवेदीले लामो समयदेखि अलपत्र रही हाल मुद्दाको क्रममा रहेको शृंगपथको विषयमा मन्त्रीसमक्ष ध्यानाकर्षण गराए। भिमाद नगरपालिका-६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले सेती नदी कटानले भिमाद बजार जोखिममा रहेको विषय मन्त्री घिसिङसमक्ष जानकारी गराए। 

सबै ठाउँमा ज्ञापनपत्र बुझेपछि मन्त्री घिसिङले अलपत्र रहेका सडक आयोजनामा ठेक्का रद्द गरेर भए पनि काम सम्पन्न गराउने प्रतिबद्धता जनाए। रासस


प्रकाशित : सोमबार, मंसिर २९ २०८२१४:४२
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend