काठमाडौं- दिगो विकासका लक्ष्यहरू प्राप्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरूमार्फत टेवा पुर्याउन अग्रसर कुमारी बैंकले ग्रीन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ।
दिगो, समावेशी तथा जिम्मेवार बैंकिङको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरू हासिल गर्न प्रतिबद्ध बैंकले जीआईजेड, ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट आदि जस्ता संस्थाहरूद्धारा व्यवस्थापन तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनाअन्तर्ग साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो।
यस योजनाअन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आबद्ध व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रोबस खारिद गर्न बैंकबाट कर्जा लिँदा आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नुपर्ने सुरुआती रकम (डाउन पेमेन्ट) मा परियोजनाबाट निर्धारित अनुदानहरूसमेत पाउनेछन्।
त्यसैगरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारीसाधनहरू सञ्चालन गरिरहेका व्यक्तिहरूले आफ्ना सवारीसाधनहरूलाई विद्युतीय बस तथा माइक्रोबसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिनेछ। यसका लागि ऋणीहरूले परियोजनामा आबद्ध सवारीसाधन आपूर्तिकर्ताहरूबाट विद्युतीय बस तथा माइक्रोबस खरिद गर्नका लागि आवश्यक कागजातसहित कुमारी बैंकका शाखाहरूमा सम्पर्क गर्नुपर्नेछ।
यस योजनाअन्तर्गत समावेश गरिएका अनुदानहरूले ऋणीहरूको सुरुआती पुँजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोगसँगै प्रदूषणसमेत कम गर्न सकिने जस्ता बहुआयामिक लाभहरू प्राप्त हुने बैंकका दिगो बैकिङ विकास विभागका प्रमुख अर्पण पौडेलले बताए।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइहरू तथा ३१७ एटीएममार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ।


