मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

निम्बस इन्टरनेशनलले भ्याट छली गरेको विषय राजस्व न्यायाधिकरणमा

सोमबार, मंसिर २९ २०८२
निम्बस इन्टरनेशनलले भ्याट छली गरेको विषय राजस्व न्यायाधिकरणमा

निम्बस इन्टरनेशनलले लागत मूल्यभन्दा कममा वस्तुको व्यापार गरेको देखाउँदै भ्याट तथा आयकर छली गरेको ठूला करदाता कार्यालयलको रिपोर्टमा उल्लेख छ।

काठमाडौं- व्यवसायी आनन्द बगरियाको निम्बस समूहअन्तर्गत निम्बस इन्टरनेशनल कम्पनी प्रालिले भ्याट छली गरेको विषय राजस्व न्यायाधिकरणमा पुगेको छ।  

दाना तथा कृषिजन्य उत्पादन, खाद्यान्न, इकमर्शदेखि रियलस्टेटसम्म हात हालेको निम्बस समूहअन्तर्गतको निम्बस इन्टरनेशनल कम्पनीले भ्याटछली गरेको विषय राजस्व न्यायाधिकरणमा पुगेको हो।

न्यायाधिकरणबाट प्राप्त सूचनाअनुसार निम्बस इन्टरनेशनलले आर्थिक वर्ष २०७९/०८० मा भ्याट छली गरेको भन्दै ठूला करदाता कार्यालयले थप कर निर्धारण गरेको थियो।

ठूला करदाता कार्यालयको निर्णयउपर निम्बस प्रशासकीय पुनरावलोनका लागि आन्तरिक राजस्व विभाग पुगेको थियो। विभागले पनि ठूला करदाता कार्यालयले थप निर्धारण गरेको २ लाख ७९ हजार रुपैयाँ भ्याटलाई नै सदर गर्ने निर्णय गरेको थियो।

सोही विषयलाई लिएर निम्बस राजस्व न्यायाधिकरणमा पुगेको हो। निम्बसले २०८२ असार २९ गते राजस्व न्यायाधिकरणमा रिट दर्ता गराएको थियो। राजस्व न्यायाधिकरणमा मुद्दा प्रक्रिया चलिरहेको छ। 

ठूला करदाता कार्यालयले निम्बस इन्टरनेशनलविरुद्ध आयकरसमेत छली भएको भन्दै थप कर निर्धारण गरेको थियो।

निम्बस इन्टरनेशनलले लागत मूल्यभन्दा कममा वस्तुको व्यापार गरेको देखाउँदै भ्याट तथा आयकर छली गरेको ठूला करदाता कार्यालयलको रिपोर्टमा उल्लेख छ।

सन् २००० मा बगरियाले निम्बस स्थापना गरेका हुन्। निम्बस मुख्यगरी जनावरको दानाको बिक्री वितरण तथा मकै र गेडागुडिको कारोबारमा संलग्न छ। यो कम्पनीले स्वदेशी तथा अन्तराष्ट्रिय बिक्रेताबाट कच्चा पदार्थ ल्याएर त्यसमा काम गर्ने गर्छ। 

बगरियाकै नेतृत्वमा निम्बस फिड मिलिङ, कृषि प्रशोधन र एफएमसीजीमा कम्पनीले काम गरिरहेको छ। यसको प्रमुख उत्पादन ‘शक्ति पेलेट फिड’ पर्ख्यात छ। उनले  कुकुरको खानेकुरा ‘हिमालयन ह्याप्पी पेट’ पनि सुरु गरेका थिए। 

निम्बसले काठमाडौं, पर्सा, सुनसरी र कोहलपुरजस्ता स्थानहरूमा ९ वटा डिपो र ३ वटा गोदाम सञ्चालन गरिरहेको छ। निम्बसको देशव्यापी वितरण सञ्जालमा २ सय ५० भन्दा बढी डिलर र ५ सय  भन्दा बढी सब-डिलर आबद्ध रहेको जनाइएको छ। 

कृषि व्यवसायबाहेक पनि बगरियाले आफ्ना लगानी र व्यवसाय विस्तार गरेका छन्। उनका औद्योगिक गतिविधिमा प्याकेजिङ फेब्रिक, सिमेन्टका बोरा, पेन्ट रेजिन तथा रसायन उद्योगसमेत समावेश छन्।


प्रकाशित : सोमबार, मंसिर २९ २०८२११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend