रसुवा- हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत उत्पादनमा असर परेको छ। सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत उत्पादनमा असर परेको हो।
पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनाबाट १६ मेगावाट, १४ दशमलव आठ मेगावाट क्षमताको 'अप्पर साङ्जेन'बाट छ मेगावाट, ४२ दशमलव पाँच मेगावाटको 'लोवर साङ्जेन'बाट ३० मेगावाट र ७८ मेगावाट क्षमताको सालासुंगीबाट पाँच मेगावाट मात्र विद्युत उत्पादन हुने गरेको सम्बन्धित आयोजनाले जनाएका छन्।
चिसोका कारण विद्युत उत्पादनमा उच्च कटौती हुने गरेको जानकारी दिँदै सालासुंगी हाइड्रोपावरमा कार्यरत इञ्जिनियर राजु श्रेष्ठले भने, 'अत्यधिक चिसोका कारण अहिले खोलामा पानीको सतह घटेको छ। पानीको बहाव घटेसँगै क्षमताभन्दा न्यून विद्युत उत्पादन गर्न बाध्य छौँ। चैतपछि हिउँ पग्लिने दर वृद्धि भई खोलामा पानीको बहाव बढ्न थाल्छ। त्यसपछि आयोजनाको क्षमताअनुसार विद्युत उत्पादन हुन थाल्छ।'
यसैबीच गत असारमा आएको बाढीका कारण क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रको संरचना पुनर्निर्माणपछि हाल ३७ मेगावाट विद्युत उत्पादन भइरहेको रसुवागढी जलविद्युत कम्पनीका कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले जानकारी दिए। स्थानीय खोलामा आएको बाढीले असर पुर्याएको सो आयोजना पुनर्निर्माणको काम पूरा भए हिउँदमा करिब ६५ देखि ७० मेगावाटसम्म विद्युत उत्पादन हुने बताइएको छ। रासस
