बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पाँचखाल खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २८ २०८२
पाँचखाल खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा

काभ्रेपलाञ्चोक- निर्धारित समयसीमाभन्दा तीन वर्षपछि निर्माणा भइरहको पाँचखाल-सुनकोशी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ। हाल पाँचखाल नगरपालिकाका छ हजार परिवारमा खानेपानी पुर्‍याइसकिएको छ। योसँगै आयोजनाबाट यहाँका ३१ हजार नागरिक लाभान्वित हुनेछन्।  

विविध कारण समयसीमाभन्दा तीन वर्षपछि आयोजना निर्माण सकिन लागेको हो। निर्माणाधीन उक्त आयोजनाको भौतिकतर्फ करिब ९९ प्रतिशत प्रगति हासिल भएको आयोजना कार्यालयले जनाएको छ। 

गत वर्षको असोजमा आएको बाढी-पहिरोले क्षतिग्रस्त बनेपछि आयोजनाको मर्मत एवं पुनर्निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए। साथै सुनकोशी नदीस्थित स्रोतबाट पानी ल्याएर पाँचखाल-९, डाँडागाउँस्थित ३९ लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र तथा ओभरहेड ट्यांकीमा पानी संकलन गरी परीक्षण सकेर औपचारिक रूपमा लक्षित बस्तीसम्म वितरण गरिएको उनले जानकारी दिए।

'थपिएका समेत केही परिवारमा पानी पुर्‍याउन थप अनुसन्धान भइरहेको छ, आयोजना अन्तिम चरणमा पुगेकाले पुस दोस्रो सातासम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौँ,' लामिछानेले भने। उनका अनुसार स्रोतबाट पूर्ण क्षमतामा प्रतिसेकेण्ड ८४ लिटरका दरले पानी प्रशोधन केन्द्रमा ल्याई  उपभोक्ताका घरमा पानी पठाइएको छ। 

उपभोक्ता समितिले गत वर्षको असोजमा पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढी-पहिरोले मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा तथा पर्खाल भत्काएको, ४८ स्थानमा वितरण पाइप तथा केही संरचनामा एक करोड ७० लाख रुपैयाँ क्षति पुर्‍याएपछि योजना असफल भएको थियो। 

दातृ निकायसँगको समन्वयमा समयावधि थप्दै आयोजना सफल बनाइएकामा समितिले औपचारिक रूपमा उद्घाटन गर्न भने बाँकी रहेको जनाएको छ। 

आयोजनाको कार्य अन्तिम चरणमा पुगेसँगै प्रतिघण्टा तीन लाख दुई हजार ४०० पानी सहज रूपमा तान्न सकिने समितिका अध्यक्ष लामिछानेले जानकारी दिए। उनका अनुसार आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिनेछ। 

आयोजनाअन्तर्गत भौतिकतर्फ सुनकोशी नदी किनारमा छवटा इनार, चार-चार लाख लिटर क्षमताका दुईवटा पानी संकलन ट्यांकी, तीन लाख लिटरको ओभरहेड ट्यांकी, १० वटा नयाँ वितरण ट्यांकी, छ ब्रेक प्रेसर ट्यांकी र १५ वटा पालेघर निर्माण सम्पन्न भएका छन्। 

त्यस्तै पाँचवटा जेनेरेटर राख्ने घर, ट्यांकी वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किलोमिटर शाखा प्रसारण लाइनमध्ये ३५ किलोमिटर, २३० किलोमिटर वितरण पाइपलाइनमध्ये २२० किलोमिटरको काम सम्पन्न भएको समितिले जनाएको छ। हाल कुल छ हजार ३७ धारा सञ्चालनमा आएका छन्।

सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७९ माघ मसान्तसम्म सम्पन्न गर्नेगरी वि.सं. २०७७ असार १५ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो। आयोजनाको काम कोरोना भाइरस संक्रमण, मेलम्चीमा आएको बाढी तथा गत असोजको बाढी-पहिरोका कारण पूर्वाधारमा क्षति पुर्‍याएपछि लम्बिएको हो। 

पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न भुम्लु गाउँपालिका-१०, विमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको समितिका अध्यक्ष लामिछानेले बताए। उनका अनुसार एक अर्ब ४७ करोड ४३ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका-२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरका ३१ हजार ४१५ जना नागरिक लाभान्वित भएका हुन्। 

दैनिक प्रतिव्यक्ति १९२ दशमलव शून्य पाँच लिटर पानी उपभोग गर्न पाउने प्रक्षेपण गरिएको आयोजना कार्यालयले जनाएको छ। यस आयोजनाबाट सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने प्रक्षेपण गरिएको हो। 

सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारसहित उपभोक्ताको पाँच प्रतिशत परिवारले प्रतिपरिवार १८ हजार रुपैयाँका दरले रकम बुझाएका हुन्। त्यस्तै आयोजनाका लागि सम्झौताअनुसार २१४ विपन्न वर्गका उपभोक्ताले भने स्थानीय सहकारी संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएका छन्। रासस 


प्रकाशित : आइतबार, मंसिर २८ २०८२१६:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend