मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

घरबासले फेर्दैछ कोरिखाका महिलाको दैनिकी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २८ २०८२
घरबासले फेर्दैछ कोरिखाका महिलाको दैनिकी

तनहुँ- पहिला कोरिखा गाउँका‍ अधिकांश महिला खेतीपातीमा रमाउँथे। महिलाको दैनिकी घर, परिवार र खेतीपाती सम्हाल्ने हुन्थ्यो। तर, पछिल्लो समय होमस्टे (घरबास) सञ्चालनमा आएपछि गाउँमा आयआर्जन गर्ने नयाँ माध्यम बन्नुका साथै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन्।

तनहुँको बन्दीपुर गाउँपालिका-५ मा रहेको कोरिखा सामुदायिक घरबास वि.सं. २०७५ देखि सञ्चालनमा आएको हो। सुरुआतमा गाउँका २४ मध्ये ११ परिवारको सहभागितामा सञ्चालनमा ल्याइएको घरबास अहिले विस्तार हुँदै गएको छ। 

सामुदायिक घरबासको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको जनाउँदै घरबासकी अध्यक्ष सावित्री गुरुङले ५० जना पाहुना सहिजै बस्न मिल्ने गरी संरचना बनाइएको बताइन्। 

गाउँमा रोजगारीको अभावका कारण युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको उल्लेख गर्दै उनले भनिन्, 'युवालाई गाउँमै रोक्न सकियोस् भन्ने उद्देश्यले आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचबाट होमस्टे सुरु गरेका हौँ।'

बन्दीपुर-५ को कोरिखा क्षेत्रमा घरबास सञ्चालन गरिरहेकी सोममाया गुरुङले भनिन्, 'पहिला घरधन्दा र खेतीपातीमै समय बित्थ्यो। होमस्टे सुरु भएपछि पाहुनालाई सेवा दिन पाउँदा सानो भए पनि आम्दानीको बाटो खुलेको छ। आफ्नै घरबाट आम्दानी हुन थालेपछि आत्मविश्वास पनि बढेको छ।'

घरबास सञ्चालक चिनीमाया गुरुङले आम्दानीको स्रोत बनेपछि गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास बढेको बताइन्। कम आम्दानी भए पनि घरखर्च चलाउन सहज भएको उनको भनाइ छ। पाहुनासँग घुलमिलले संस्कृति, कला, परम्परा चिनाउन पाउँदा खुसी लाग्ने उनको अनुभव छ।

घरबासमा आउने पाहुनालाई बेलुकाको खाजा, खाना र बास तथा बिहानको खाजासहित प्रतिव्यक्ति ८०० रुपैयाँको एकमुष्ट योजना (प्याकेज) उपलब्ध गराउने गरिएको चिनीमायाले जानकारी दिइन्। 

'यहाँ विशेषगरी स्थानीयस्तरमा उत्पादित ढिँडो, लोकल कुखुरा, खसी तथा बोकाको मासु, कोदोको रोटी र मह खुवाउने गरिन्छ। साथै स्थानीय संस्कृति झल्कने कौरा, चुड्का र घाटु नृत्यसमेत प्रस्तुत गरिन्छ,' उनले भनिन्।

पर्यटन पहुँचका हिसाबले पनि कोरिखा सहज स्थानमा पर्दछ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५, याम्पाबाट करिब छ किलोमिटर दूरीमा रहेको कोरिखा सवारीसाधनबाट करिब १५ मिनेटमा पुग्न सकिन्छ। त्यस्तै डुम्रेबाट बन्दीपुर हुँदै वा बन्दीपुर बजारबाट बाहुन भञ्ज्याङ पार गरी करिब १५ मिनेटको सवारीयात्रामा कोरिखा पुग्न सकिन्छ। रासस


प्रकाशित : आइतबार, मंसिर २८ २०८२१६:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend