बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुग्लिन-पोखरा सडक विस्तारको काम छिटो सक्न मन्त्री घिसिङको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २८ २०८२
मुग्लिन-पोखरा सडक विस्तारको काम छिटो सक्न मन्त्री घिसिङको निर्देशन

जामुनेबाट पोखरासम्म पर्ने पश्चिम खण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन्।

तनहुँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्। जामुनेबाट पोखरासम्म पर्ने पश्चिम खण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन्। 

मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। पश्चिम खण्डमा भौतिक प्रगति ५९ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत भएको छ। 

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव चार किलोमिटरमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्रे सकिएको छ। त्यसमध्ये २९ दशमलव ६१ किलोमिटरमा चार लेन र सात दशमलव ७९ किलोमिटरमा दुई लेन कालोपत्रे सम्पन्न भएको उनले जानकारी दिए।

उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा पुल निर्माणाधीन छ। गत आर्थिक वर्षमा पश्चिम खण्डको २५ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव शून्य छ किलोमिटर कालोपत्रे भएको आयोजना प्रमुख कुँवरले जानकारी दिए। उनका अनुसार ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम ११ वटै सम्पन्न भएका छन्।

छैसठ्ठी कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१ दशमलव पाँच किलोमिटर नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किलोमिटर सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ। आगामी पुस १६ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित वि.सं. २०७८ जेठ ३ गते सात अर्ब ४० करोड रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। रासस


प्रकाशित : आइतबार, मंसिर २८ २०८२१२:१०
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # मुग्लिन-पोखरा सडक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend