बागलुङ- पछिल्लो समय बेलढुंगा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। काठेखोला गाउँपालिका-३ धम्जा ओखलेस्थित बेलढुंगा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन्।
घरबास पुगेका सामाजिक व्यक्तित्व डा. सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताउँछन्। यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार बढी रहने गरेको छ। पाठकलाई पनि आतिथ्यता, सांस्कृतिक कार्यक्रमसँगै बिहानको खाजामा दिइने कोदोका परिकारले झनै मोहित बनाएको थियो।
उनले कोदोको ढिँडो र रोटी खाए पनि सेलरोटी पहिलोपटक खान पाएकामा खुसी व्यक्त गरे। 'सामाजिक काममा धेरै स्थानमा पुगियो, धेरै घरबासमा खानाका परिकार चाखियो, तर कोदोबाट बनेको सेलरोटी बेलढुंगा सामुदायिक घरबासमा देख्न र चाख्न पाइयो। यो निकै मन पर्यो,' डा. पाठकले भने, 'घरबास चल्नका लागि खानाको परिकार, संस्कार, संस्कृति र प्रकृतिको संयोजन हुन आवश्यक रहेछ, जुन कुरा बेलढुंगा आएपछि देखियो। यहाँको आतिथ्यता र बेलढुंगाबाट आँखैअगाडि देखिने हिमालले मोहनी नै लगायो।'
गरिबको खान्की भनेर चिनिँदै आएको कोदोका परिकार सामुदायिक घरबास आउने अधिकांश पाहुनाको रोजाइमा पर्न थालेका छन्। घरबासमा कोदोको रोटी, सेलरोटी, कोदो र फापरको ढिडोसँग लोकल कुखुरा र खसीको मासु तथा भाँगो राखेको आलुको अचार मुख्य परिकार हुन्।
आगन्तुक पाहुनाले ढिँडो, सेलरोटी, फापरका परिकार, उसिनेको आलु, सिल्टुमरको चटनी, आलु चिप्स, अचार, आलुको रोटीलगायत परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको हो। घरबासमा प्रगतिशील आमा समूहले पाहुनाको स्वागत तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था मिलाउँदै आएको छ। आमा समूहकी अध्यक्ष माया घर्तीले पाहुनालाई घरबासको सभाहलमा सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिँदै आएको बताइन्।
'राति पाहुनालाई सांस्कृतिक कार्यक्रमसहित सत्कार गर्छौं, खानाको कुरा त भइ नै हाल्यो। पाहुनाले बिहानै बेलढुंगामा पुगेर सूर्योदय र हिमाल हेर्छन्,' उनले भनिन्, 'घरबासमा चितवन, पोखरा, म्याग्दी, पर्वत तथा बागलुङबाट पाहुना आउने गरेका छन्।'
यो स्थान काठेखोला गाउँपालिका-३, ओखले र म्याग्दीको बेनी नगरपालिका-३, भकिम्लको शिरमा अवस्थित छ। सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ, जसको फाइदा धम्जास्थित बेलढुंगा सामुदायिक घरबासलाई भएको छ। दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुंगा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।
वि.सं. २०७५ मा यो स्थापित सामुदायिक घरबास हाल १० घरमा सञ्चालित छ, जहाँ एक रातमा ३० जनासम्म राख्न मिल्छ। घरबास सञ्चालक गोपाल श्रीस घरबासमा आयातीत खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेष रूपमा प्रवर्द्धन गर्ने गरिएको बताउँछन्।
'गाउँमै उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यावसायीकरण र अन्य उत्पादनलाई समेत प्रवर्द्धन गर्न अब गाउँलाई 'अर्ग्यानिक भिलेज'का रूपमा स्थापना गर्ने योजना छ,' उनले भने, 'गाउँमा रासायनिक मल निषेध गरिएकाले अर्ग्यानिक कृषि उपजले पाहुनालाई स्वागत गर्न सहज भएको छ।' रासस
