मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

पुस ७ गतेदेखि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सर्वसाधारणका लागि खुला हुने

आइतबार, मंसिर २८ २०८२
पुस ७ गतेदेखि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सर्वसाधारणका लागि खुला हुने

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) तथा बिक्री खुला गर्ने भएको छ।

काठमाडौं- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) तथा बिक्री खुला गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरिएको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न भएपछि कम्पनीले अब सर्वसाधारणतर्फ सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरमध्ये ५७ हजार ७९८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख २ हजार ७६८ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको छ। सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ भए पनि बुक बिल्डिङ प्रणालीअनुसार प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ।

बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बोलकबोल प्रणालीमार्फत बाँडफाँट गरिएको थियो। सो क्रममा कटअफ मूल्य ९१२ रुपैयाँ कायम भएको र उक्त मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा निर्धारण गरिएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा पुस ११ गते बन्द हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट, साथै सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सी–आस्बा मार्फत आवेदन दिन सक्नेछन्।

शेयर निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस’ प्रदान गरेको छ। यसले कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै सुरक्षित रूपमा वहन गर्न पर्याप्त क्षमता राख्ने संकेत गर्दछ।

रिलायन्स स्पिनिङ मिल्स नेपालका धागो उत्पादन गर्ने उद्योगहरूमध्ये ठूलो रोजगारदाता उद्योगका रूपमा परिचित छ। कम्पनीले उत्पादन गर्ने धागोमध्ये ७० देखि ७५ प्रतिशतभन्दा बढी भारत, टर्की, भियतनाम, युकेलगायत विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण तथा प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्। कम्पनीको मुख्य उद्योग इटहरी उपमहानगरपालिका–१२, खनार (सुनसरी) मा रहेको छ भने शाखा उद्योग इटहरी उपमहानगरपालिका–४, दुहबीमा सञ्चालनमा छ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता अवधि १०.६१ वर्ष रहेको छ।


प्रकाशित : आइतबार, मंसिर २८ २०८२०८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend