बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २७ २०८२
बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन्।

गोरखाको भीमसेन थापा गाउँपालिका-८, महादेवटारस्थित जागेश्वर माध्यामिक विद्यालयको शुक्रबार आयोजित स्वर्ण जयन्ती उद्घाटन कार्यक्रममा उनले विविध कारण यसअघि निर्माण रोकिएको आयोजनाको काम तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री पाण्डेले गोरखा र धादिङको सिमानामा बन्ने उक्त आयोजनाले जलविद्युत क्षेत्रको विकास मात्र नभई प्रभावित क्षेत्रका जनताको आयआर्जनमा पनि सहयोग पुर्‍याउने भएकाले यसको निरन्तरता आवश्यक रहेको बताए। 

उनले केन्द्र सरकारलाई आयोजना शीघ्र सम्पन्न गर्न दबाब दिने उद्देश्यले गोरखा र धादिङमा पर्ने बुढीगण्डकी करिडोर क्षेत्रमा गण्डकी र बागमती प्रदेश सरकारको संयुक्त बैठकको तयारी भइरहेको जानकारी दिए। 

'अब आयोजना क्षेत्रका स्थानीय सरकारका प्रतिनिधिलाई पनि राखेर दुवै प्रदेश सरकारको बैठक करिडोर क्षेत्रमा गर्ने गरी छलफल भइरहेको छ, आयोजना निर्माण जसरी भए पनि छिटो सम्पन्न गर्नुपर्छ,' मुख्यमन्त्री पाण्डेले भने।

आयोजना निर्माणको अन्योलता हटाउन पटक-पटक पहल गर्दै आएको बताउँदै उनले त्यसलाई मूर्तरूप दिन नसकिएको स्पष्ट पारे। मुख्यमन्त्री पाण्डेले सकारात्मक सोचले मात्र समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै देशमा केही पनि भएन भन्ने भाष्य सृजना गरेर मात्र देश नबन्ने उल्लेख गरे।

'अहिले सबैले ठगेर खाइरहेका छन्, सबैले लुटेर खाइरहेका छन्, सबैले भ्रष्टाचार गरेर खाइरहेका छन् भनेर भाष्य निर्माण गर्ने कोसिस भइरहेको छ,' मुख्यमन्त्री पाण्डेले भने, 'अहिले वास्तविकता बुझ्ने प्रयास कसैले गरेका छैनन्, नकारात्मक सोच र भावनाले मात्र देश बन्दैन।' 

सबैको सामूहिक प्रयासले मात्र समृद्ध नेपाल निर्माण गर्न सकिने उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, मंसिर २७ २०८२१२:४९
  • सम्बन्धित विषय:

  • # बुढीगण्डकी जलविद्युत आयोजना
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend