वीरगञ्ज- सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढंगले काम गरेको छ।
सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरेर भित्र्याइएका १३ करोड ६२ लाख ७२ हजार ६९५ रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी-तस्करी गरेर भित्र्याइने वस्तु तथा सामान नियन्त्रणमा लिने क्रम ह्वात्तै बढेको जानकारी दिए।
'सशस्त्र प्रहरीले गत आर्थिक वर्षभरिमा २८ करोड ९२ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने अवैध चोरी-तस्करीका सामान बरामद गरेको थियो,' उनले भने, 'चालु आर्थिक वर्षमा पनि बरामद हुने सामानको मात्रा उल्लेखनीय बढेकाले पनि गत आर्थिक वर्षको भन्दा धेरै बरामद हुने आशा गरेका छौँ।'
सशस्त्र प्रहरी बल, नेपाल पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा बिलबिजकभन्दा बढीका आठ करोड ५९ लाख ७२ हजार ७५० रुपैयाँ मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। जबकि सशस्त्र प्रहरीले गत आर्थिक वर्षभरिमा भने ११ करोड ९९ लाख ४७ हजार १७८ रुपैयाँ मूल्य पर्ने बिलबिजकभन्दा बढीका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो।
सशस्त्र प्रहरी उपरीक्षक भट्टले पर्सामा १०७ किलोमिटर खुला सीमानाका छिमेकी मुलुक भारतसँग जोडिएकाले पनि सशस्त्र प्रहरले चोरी-तस्करी नियन्त्रणमा प्रभावकारी कदम चाल्दै आइरहेको बताए।
'हामीले तालिमप्राप्त कुकुरदेखि चाैबीसै घण्टा सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटाएर चोरी-तस्करी नियन्त्रण गर्नका लागि प्रभावकारी कदम चाल्दै आइरहेका छौँ,' उनले भने, 'सशस्त्र प्रहरीले चोरी-तस्करी नियन्त्रणमा कदम चालेसँगै वीरगञ्ज भन्सार कार्यालयले पनि उत्साहजनक ढंगले राजस्व संकलन गर्दै आइरहेको छ।'
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। जबकि गत आर्थिक वर्षको सोही अवधिमा भने कार्यालयले ६६ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले १३ प्रतिशत अर्थात् आठ अर्ब ७६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ।
सशस्त्र प्रहरी उपरीक्षक भट्टले चालु आर्थिक वर्षमा बेमौसमी बर्सात, जेनजी प्रदर्शन, छिमेकी मुलुक भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनलगायतका बाबजुद पनि राजस्व संकलन उत्साहजनक देखिनु सकारात्मक पाटो रहेको बताए।
'सशस्त्र प्रहरीले इमान्दारीपूर्वक कार्यसम्पादन गर्दै आइरहेको छ,' उनले भने, 'अहिले पर्सा जिल्लामा हुने चोरी-तस्करी नियन्त्रणमा पनि सबैको साथ र सहयोगका कारणले उल्लेखनीय प्रगति हासिल गर्न सकिरहेका छौँ।'
सशस्त्र प्रहरी बल पर्साले विपद् उद्धारमा पनि उत्तिकै प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ। गत असोज १८ र १९ गतेको बाढीमा पनि यहाँ भएको डुबानमा सुत्केरी महिलालगायतको उद्धारमा सक्रियतापूर्वक खटिएको थियो। त्यस्तै गरी सशस्त्र प्रहरीले कटुवा पिस्तोलसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ।
सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा ३५० किलोग्राम गाँजा बरामद गरेको छ। त्यस्तै गरी सोही अवधिमा ३० दशमलव ९८ किलोग्राम चरेश बरामद गरेको छ। रासस
