बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुदीखोला जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २७ २०८२
मुदीखोला जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका-४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ। 

म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका-४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको उद्घाटन गरेका हुन्। दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवर्द्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चरले जनाएको छ। 

प्रवर्द्धक कम्पनीका सम्पर्क व्यक्ति राम केसीले विद्युतगृहदेखि बाँध रहने स्थानसम्म पहुँचमार्ग पुर्‍याएपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ र विद्युतगृह निर्माण थालिने जानकारी दिए।

'पहुँचमार्ग निर्माणसँगै वित्तीय व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको काम पनि समानान्तर हिसाबले अघि बढेको छ,' उनले भने, 'सुरुङ निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थ भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माण पनि सुरु गर्ने तयारी छ।'

अर्चेको फेदीमा बाँध, गुर्जा र म्याग्दी नदीको दोभानमा विद्युतगृह रहने आयोजनाको चार किलोमिटर सुरुङ रहनेछ। विद्युत खरिद-बिक्री सम्झौता भइसकेको आयोजनाले विद्युत विकास विभागबाट जेनेरेशन अनुमतिपत्र पाइसकेको छ। बाँध र विद्युतगृहको हेड ३३७ मिटर रहेको छ। यस आयोजनाको लागत प्रतिमेगावाट १६ करोड रुपैयाँ अनुमान गरिएको केसीले बताए।

रन अफ द रिभर (नदी प्रवाह) मा आधारित यस आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १३२ केभीए क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ। दोभानदेखि डाँडाखेतसम्म म्याग्दी र सहायक नदीमा निर्माणाधीन अन्य आयोजनासँग पनि साझेदारी गरेर आठ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिने भएको छ। 

धौलागिरि गाउँपालिका-४ को भूगोल भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३ दशमलव पाँच मेगावाट क्षमतको अपर म्याग्दी-१, ४६ दशमलव २५ मेगावाटको अपर म्याग्दी जलविद्युत आयोजना निर्माणाधीन छन्। पैँसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले जेल्तुङदेखि दोभानमा रहने बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरेको वडाध्यक्ष घर्तीले बताए। रासस


प्रकाशित : शनिबार, मंसिर २७ २०८२११:१६
  • सम्बन्धित विषय:

  • # मुदीखोला जलविद्युत आयोजना
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend