बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काम गर्न नसक्ने निर्माण व्यवसायीलाई धमाधम कारबाही गर्दैछौँ : मन्त्री घिसिङ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २६ २०८२
काम गर्न नसक्ने निर्माण व्यवसायीलाई धमाधम कारबाही गर्दैछौँ : मन्त्री घिसिङ

रौतहट- भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले काम गर्न नसक्ने निर्माण व्यवसायीलाई सरकारले धमाधम कारबाही गरिरहेको बताएका छन्।

रौतहटको चन्द्रपुर-८, मर्धरमा आज 'जन्मदिनलाई सतर्कममा जोडौँ' अभियानअन्तर्गत वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन्। उनले रौतहटमा पनि काम गर्न नसक्नेलाई कारबाही गरेर विकासका काम अगाडि बढाइने बताए। 

मन्त्री घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न पनि आग्रह गरे। देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने हुँदा आउँदो निर्वाचनमा सही व्यक्तिलाई निर्वाचित गरेर पठाउनुपर्ने बताए। 

देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको अवस्थामा फागुन २१ गते हुने निर्वाचनमा देशलाई माया गर्ने र देशप्रति समर्पित नेतृत्व छान्नसमेत उनले आग्रह गरे।

जनताका आशा र अपेक्षा धेरै भएको बताउँदै मन्त्री घिसिङले भने, 'तीन महिनाभित्र सक्ने किसिमको काम हामी गरेर देखाउछौँ, तर तीन महिनापछि पनि धेरै काम गर्नुपर्ने हुँदा सही नेतृत्व छान्ने काम जनताको हो।' 

आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा विद्युतको क्षेत्रमा आमूल परिर्वतन आएको भए पनि अब देशको सबै क्षेत्रमा आमूल परिर्वतनको खाँचो रहेको मन्त्री घिसिङको धारणा थियो। 

देशका अधिकांश समस्या समाधान गर्न सही नेतृत्व आवश्यक भएकाले त्यसतर्फ आम नागरिकले ध्यान दिनुपर्ने उनले बताए। किसानको मागअनुसार अहिले सिँचाइ मन्त्रालयअन्तर्गत करिब  १७-१८ अर्ब रुपैयाँबराबरको डिप बोरिङ परियोजना चलिरहेको मन्त्री घिसिङले जानकारी दिए। रासस

 


प्रकाशित : शुक्रबार, मंसिर २६ २०८२१७:४६
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend