मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

सुदूरपश्चिममा विकराल बन्दै लागुऔषधको कारोबार, दुर्व्यसनमा युवाको आबद्धता उच्च

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २६ २०८२
सुदूरपश्चिममा विकराल बन्दै लागुऔषधको कारोबार, दुर्व्यसनमा युवाको आबद्धता उच्च

प्रायः दैनिकजसो लागुऔषधसहित पक्राउ पर्ने क्रम निरन्तर छ भने सबैभन्दा बढी कारागारमा लागुऔषध मुद्दाकै अभियुक्त पुर्पक्ष र कैद सजाय भोग्दै थुनामा रहेको देखिन्छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा लागुऔषध डरलाग्दो रूपमा फैलिएको छ।

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशमा लागुऔषधको दुर्व्यसन तथा अवैध कारोबार दिनप्रतिदिन बढ्दै गएको देखिएको छ। खुला सीमाका कारण पछिल्लो समय कैलाली र कञ्चनपुर लागुऔषध तस्करीको समस्याबाट सबैभन्दा बढी प्रताडित छन्। सुदूरका सात पहाडी जिल्ला पनि यसबाट अछुतो रहन सकेका छैनन्।

प्रायः दैनिकजसो लागुऔषधसहित पक्राउ पर्ने क्रम निरन्तर छ भने सबैभन्दा बढी कारागारमा लागुऔषध मुद्दाकै अभियुक्त पुर्पक्ष र कैद सजाय भोग्दै थुनामा रहेको देखिन्छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा लागुऔषध डरलाग्दो रूपमा फैलिएको छ। 

बितेका ४४ महिनामा सुदूरपश्चिमका नौ जिल्लाबाट दुई हजार ९३० जना अभियुक्त पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। यसबाट युवा पुस्ता सबैभन्दा बढी असरमा छ। लागुऔषध सचेतना र कारबाही सँगसँगै अघि बढाएको सुदूरपश्चिम प्रहरीले हरेक वर्ष यहाँ भारतबाट अवैध रूपमा आयात हुने लागुऔषध ठूलो परिमाणमा बरामदसमेत गर्दै आएको छ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्रदेशभर २३५ जना लागुऔषध मुद्दामा पक्राउ परेका छन्। त्यसमा नौ महिला र बाँकी पुरुष अभियुक्त रहेका छन्। चालु आर्थिक वर्षको हालसम्म यहाँ लागुऔषध हेरोइन ३४१ ग्राम, ५०२ मिलिग्राम खैरो हेरोइन, १५ किलो ९६५ ग्राम चरेश बरामद गरिएको छ।

त्यसैगरी प्रहरीले यो अवधिमा अन्य लागुऔषध सामग्रीसमेत ठूलो संख्यामा बरामद गरेको छ। यहाँ चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी लागुऔषध मुद्दामा कैलालीबाट १२१, कञ्चनपुरबाट ७८, बझाङबाट नौ, दार्चुलाबाट पाँच, डडेल्धुराबाट चार तथा बैतडी, डोटी र बाजुराबाट तीन-तीन जना अभियुक्त पक्राउ परेका छन्।

त्यस्तै गत आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिमबाट प्रहरीले लागुऔषधका ६९३ मुद्दा दर्ता गरी १० हजार ४३ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। 

सो आर्थिक वर्षमा पनि सबैभन्दा बढी कैलालीबाट ६५८ जना र कञ्चनपुरबाट २५९ जना पक्राउ गरेको तथ्यांकले देखाएको छ। प्रहरीको वार्षिक तथ्यांकबाट पनि तराईका यी दुई जिल्लामा लागुऔषधको कारोबार बढ्दै गएकाले पक्राउ दर उच्च रहेको देखिन्छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले लागुऔषधको दुर्व्यसन तथा अवैध कारोबारमा यहाँ युवा पुस्ता बढी आबद्ध देखिएको बताए। 'युवा जनशक्ति यसरी लागुऔषधको कुलतमा फस्दै जाने हो भने यो समाजका लागि दुर्भाग्य हुन जान्छ,' श्रीवास्तवले भने, 'यसको रोकथाम र नियन्त्रणका लागि प्रहरीसँगै अभिभावक र समाजको सामूहिक सहकार्य अति जरुरी छ।' 

उनले हरेक दिन लागुऔषध नियन्त्रणका लागि प्रहरी सुदूरपश्चिमका सबै जिल्ला र सीमानाकामा सक्रिय भएर लागिपरेको बताए। 'यसको नियन्त्रणमा हामी गम्भीर नदेखिने हो भने यो समाजमा क्यान्सरका रूपमा फैलिँदै जान्छ,' उनले भने, 'लागुऔषध नियन्त्रणका लागि सचेतनाका कक्षा पनि प्रहरीले सबैतिर सञ्चालन गरिरहेको छ।'

बितेका तीन आर्थिक वर्षमा सुदूरपश्चिममा नौ हजार ५७६ लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रहरीले विभिन्न माध्यमबाट गरेको छ। लागुऔषध ओसारपसारका लागि तस्कर र प्रयोगकर्ताले भारतीय सीमावर्ती बजारसम्म आफ्नो सम्बन्ध विस्तार गरिरहेकोबारे प्रहरी पनि जानकार छ।

'प्रायः नेपाल-भारत सीमा बैठकमा नेपाली पक्षले लागुऔषध नियन्त्रणका लागि भारतीय पक्षसित आग्रह र सहकार्यका लागि आमन्त्रण गरिरहन्छ,' प्रदेश प्रहरीका एक अधिकारीले भने, 'यसमा भारतीय पक्षले गम्भीर चासो राखेको अवस्था छैन।'

त्यसैगरी अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा लागुऔषधका ५४५ मुद्दा दर्ता भई प्रहरीले ७९६ जनालाई पक्राउ गरेको थियो। आव २०७९/८० मा सुदूरपश्चिममा लागुऔषध मुद्दामा ८५६ जना पक्राउ परेका थिए। सो आर्थिक वर्षमा लागुऔषधका ५४० मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ।

कञ्चनपुरको महेन्द्रनगरमा लागुऔषध नियन्त्रणका लागि दशकौँदेखि सक्रिय धूमपान निषेधका अभियानकर्मी मदन चन्दले सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन भयावह अवस्थामा रहेको बताए।

'लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि स्कुलस्तर र टोल-टोलमा अभियान सञ्चालन आवश्यक छ, लागुऔषधकै कारण सवारी दुर्घटना बढिरहेका छन्,' लागुऔषध दुर्व्यसन रोकथाम अभियान नेपालका सुदूरपश्चिम संयोजकसमेत रहेका चन्दले भने।

संयोजक चन्दले सन्ततिलाई लागुऔषध दुर्व्यसनबाट जोगाउन अभिभावक नै चनाखो हुनुपर्नेमा जोड दिए। 'दुर्व्यसनमा लिप्त भइसकेपछि छोराछोरीलाई स्तरीय पुनर्स्थापना केन्द्र खोज्न भौतारिनुभन्दा समयमै छोराछोरीको ख्याल गरौँ, अवस्था विषम भइसक्यो,' चन्दले भने, 'ग्रामीण बस्तीदेखि पहाडी बस्तीसम्म दुर्व्यसन फैलिरहँदा राज्यले नियन्त्रणका लागि राज्यको प्रभावकारी कदम चालेको छैन।'

उनले सरकारीस्तरबाट लागुऔषध नियन्त्रणका लागि बर्सेनि हुने अभियान प्रभावकारी नभएको जिकिर गरे। 'देखावटीभन्दा नतिजा आउने गरी कार्यक्रम सञ्चालन हुनुपर्‍याे,' चन्दले भने, 'सहर-बजारका अभियान-महाअभियान र ठूला छलफलले मात्रै लागुऔषध नियन्त्रण र रोकथाम सम्भव छैन।' रासस


प्रकाशित : शुक्रबार, मंसिर २६ २०८२१६:४६
  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend