बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हरेक कार्यक्रममा युवा पुस्तालाई समेट्नुपर्छ : सञ्चारमन्त्री खरेल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २६ २०८२
हरेक कार्यक्रममा युवा पुस्तालाई समेट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हरेक कार्यक्रममा युवा पुस्तालाई समेट्नुपर्नेमा जोड दिएका छन्। साथै उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताए।

राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित 'सामाजिक जवाफदेहिता : मिडिया र युवा संवाद' विषयक कार्यक्रममा मन्त्री खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौतामा जनआन्दोलनको मान्यता दिइसकिएकाले त्यस आन्दोलनलाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने बताएका हुन्। 

'अबको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवाकै हो। युवाले केही गर्न सक्दैनन् भन्ने भ्रम जेनजी आन्दोलनले तोडिदिएको छ। उनीहरूले परिवर्तनका लागि बलिदान दिन सक्छन् भन्ने देखाएका छन्,' सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले भने, 'हरेक चरणका आन्दोलनमा युवाको भूमिका रहँदै आएको छ। युवाले चाहेमा २७ घण्टामा कायापलट हुन सक्छ भनेर प्रमाणित गरे, तर यसपटक जेनजीहरू सरकारमा आउन चाहेनन्। त्यसकारण यो निःस्वार्थ आन्दोलन हो। उनीहरू आफू सत्तामा आउन चाहेनन्, सुशासन र रोजगारीको माग मात्रै गरे।'

उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद अपूरो हुने भन्दै युवा नेतृत्वमा आउनुपर्नेमा जोड दिए। उनले नेपाली राजनीतिमा अब युवाको दबदबा हुनेवाला भएको र त्यसलाई कसैले रोकेर नरोकिने भनाइ राखे।

'अब हरेक राजनीतिक पार्टीले युवालाई नेतृत्वमा ल्याउन तयार नभई सुखै छैन। मुलुकका युवाको भविष्य राजनीतिमा उज्ज्वल छ,' उनले भने।

मन्त्री खरेलले 'निकट भविष्यमा हुने राजनीतिक दलको महाधिवेशनमा कति युवा आउँछन्?, आगामी फागुन २१ गते हुने चुनावमा कति प्रतिशत युवाले टिकट पाउँछन्?' भन्ने प्रश्नले ती दल कत्तिको युवामैत्री छन् भन्ने झल्कने बताउँदै अब युवा कुनै वादको बन्धक नभई अधिकार लिने र देश बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए। सञ्चार क्षेत्रले पनि यस आयामलाई बोक्न सक्नुपर्ने बताउँदै उनले मुलुक परिवर्तनको बाटोमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रियसभाकी सदस्य, जनसंख्या एवं विकासका लागि संसदीय सञ्जालकी महासचिव गंगाकुमारी बेलवासेले युवालाई समस्या नभई समाधान, ऊर्जा र नवप्रवर्तनमा उपयोग गर्नुपर्नेमा जोड दिइन्। 

युवा तथा खेलकुद मन्त्रालयकी सहसचिव मनिता श्रेष्ठले शिक्षाको माध्यमबाट दक्ष जनशक्ति निर्माण आजको आवश्यकता भएको बताइन्। 

संयुक्त राष्ट्रसंघीय जनसंख्या विकास कोषका नेपाल प्रतिनिधि श्रीराम हरिदासले मिडिया, युवा र जवाफदेहिताबारेको संवादलाई निरन्तरता दिन अत्यावश्यक भएको बताए।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनमा सञ्चार क्षेत्रमाथि पनि भौतिक प्रहार हुनुले मिडियामाथि पनि आक्रोश रहेछ भन्ने बुझेर सामग्रीमा पुनर्विचार गर्नुपर्नेमा जोड दिइन्। रासस


प्रकाशित : शुक्रबार, मंसिर २६ २०८२१५:५४
  • सम्बन्धित विषय:

  • # जगदीश खरेल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend