बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा-च्याङ्ग्रा मरे

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २६ २०८२
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा-च्याङ्ग्रा मरे

मुस्ताङ- मुस्ताङको घरपझोङ-२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रनजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन्। 

स्थानीयवासी सन्तोष परियारको भेडा-च्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडा-च्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ।

किसान परियारको मार्फास्थित गाउँभित्रको भेडा-च्याङ्ग्रा  खोरमा ४५ भेडा-च्याङ्ग्रा थिए। तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडा-च्याङ्ग्रा मरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसबाट करिब छ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल जाँदै गरेको बताए।

पछिल्लो समय मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढ्दै जान थालेको छ। हिउँदयाममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजातिहरू चरन क्षेत्र खोज्दै बस्तीनजिक आउने गर्छन्। हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्तीनजिक आएर स्थानीय पशुपालकहरूको पशुधनमा क्षति पुर्‍याउने गरेको पाइएको छ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवाबीचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ। यसैका कारण जिल्लाका कतिपय किसानहरूले पशुपालन व्यवसाय छाड्न थालिसकेका छन्। रासस


प्रकाशित : शुक्रबार, मंसिर २६ २०८२१२:४०
  • सम्बन्धित विषय:

  • # पशुपालन
  • # हिउँ चितुवा
  • # भेडा
  • # च्याङ्ग्रा
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend