काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँबराबरको भौतिक संरचनामा क्षति भएको सार्वजनिक भएको छ।
यस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत २ हजार १ सय ६८ संघसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, 'समग्रमा हेर्दा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँबराबरको भएको समितिको मूल्यांकन छ, आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो।'
यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २ सय ६२ रहेका छन्, प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कुल ७७ जनाको ज्यान गएको छ। २ हजार ४ सय २९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन्, १३ देखि २८ वर्षका एक हजार ४ सय ३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार १२ हजार ६ सय ५९ वटा सवारीसाधन क्षतिग्रस्त हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँबराबरको नोक्सान हुनुका साथै सरकारी/सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँबराबरको क्षति पुगेको छ।
त्यसैगरी दुई हजार ६ सय ७१ भवनमा क्षति पुगेको छ र त्यसमा पनि क्षतिको मूल्यांकन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँबराबर रहेको छ।
'सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँबराबरको क्षति भएको छ, निजी क्षेत्रको क्षतिको मूल्यांकन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सरकारी क्षतिमा तीन तहमध्ये संघीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ', प्रतिवेदनमा भनिएको छ।
सरकारी/सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँबराबर क्षति पुगेको, निजी क्षेत्रको क्षतिको मूल्यांकन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँबराबर र सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँबराबर क्षति भएको जनाइएको छ।
राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते गरिएको समितिले बिहीबार ७५ दिनमा आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाएको हो।