बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको मौरीओढारमा कालोपत्रे थालियो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २६ २०८२
मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको मौरीओढारमा कालोपत्रे थालियो

यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्रे गरिएको थिएन। सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो।

तनहुँ- मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६, मौरीओढारमा कालोपत्रे गर्न थालिएको छ। मुग्लिन-पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओढामा लामो समयपछि कालोपत्रे गर्न थालिएको हो।

यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्रे गरिएको थिएन। सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो।

पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओढारमा दुईतर्फी नै कालोपत्रे गर्न बाँकी रहेकामा यहाँ कालोपत्रेको काम सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।

हाल दुई लेनमा कालोपत्रको काम भइरहेको छ भने दुई लेन सकिएपछि अर्को दुई लेनमा कालोपत्रे हुनेछ।  पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको छ।

३८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव ४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ। त्यसमध्ये २९ दशमलव ६१ किलोमिटर खण्डमा चारलेन र ७ दशमलव ७९ किलोमिटर खण्डमा दुई लेन कालोपत्र सम्पन्न भएको छ। 

उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा पुल निर्माणाधीन रहेको छ । पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किलोमिटर कालोपत्र भएको छ। ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम ११ वटै पुल बनेका छन्। 

छैसठ्ठी कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१ दशमलव पाँच किलोमिटर नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किलोमिटर नाला निर्माण सम्पन्न भएको कुँवरले जानकारी दिए।

वि.सं. २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद वि.सं. २०८२ पुस १६ गतेसम्म रहेको छ। यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले सात अर्ब ४० करोड रुपैयाँमा पाएको थियो। रासस


प्रकाशित : शुक्रबार, मंसिर २६ २०८२११:४७
  • सम्बन्धित विषय:

  • # मुग्लिन-पोखरा सडक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend