काठमाडौं- घुस लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा भएकाे मानव तस्करीको घटनामा सात जना व्यक्ति र दुईवटा ट्राभल एजेन्सीविरुद्ध मुद्दा दायर भएको छ।
अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार तत्कालीन सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रीनलाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेका सञ्चालक दीपक भण्डारी, ग्रीनलाइनका सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ।
यस प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध भने मुद्दा दायर गरिएको छैन। लेखकसहित तत्कालीन गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवका सचिवालयलगायतमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
भिजिट भिसामा विदेश जाने नेपालीबाट रकम असुलेको आरोपमा सहसचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ परेका थिए।
त्यसयता विभिन्न समयमा अन्य कर्मचारीहरूसमेतलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो।