काठमाडाैं- हुँदै नभएको घरको अभिलेख देखाई बैंकबाट लाखाैँ रुपैयाँ ऋण लिएर भ्रष्टाचार गरेकाे आरोपमा चार जनाविरुद्ध मुद्दा दायर भएकाे छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा यससम्बन्धी आरोपपत्र दायर गरेको हो।
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव-इञ्जिनियर जय कुँवर, असिस्टेन्ट सव-इञ्जिनियर तेजबहादुर सुनार र सोही गाउँपालिका-२ का जग्गाधनी शान्ति नाथविरुद्ध मुद्दा दायर भएकाे हाे।
जग्गाधनी शान्ति नाथले बेलडाँडी-२ स्थित कित्ता नम्बर ३५७ को ४०० वर्गमिटर क्षेत्रफलको जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गराएर लक्ष्मी सनराइज बैंकबाट ऋण लिएका थिए। उनले लक्ष्मी सनराइज बैंकको कञ्चनपुर शाखाबाट २०७८ चैत १० मा २३ लाख ७५ हजार र २०७९ असोज १३ मा १० लाख गरी ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएकाे पाइएको छ।
उक्त कार्य गर्नका लागि जग्गाधनी शान्ति नाथसहित गाउँपालिकाका तत्कालीन कर्मचारीहरूले आपसी मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
शान्ति नाथले आफ्नो जेथाले थाम्नेभन्दा अत्यधिक बढी बैंकबाट ऋण लिने बदनियतले घर नभएको जग्गामा घर छ भन्ने झुटो नक्सा तयार पारी अभिलेखीकरणका गाउँपालिकामा निवेदन दिएका थिए। उनले सेती कन्सल्टेन्सी प्रालिमार्फत उक्त झुटाे नक्सा तयार गराएका थिए।
अख्तियारको अनुसन्धानमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशीले हुँदै नभएको झुटाे विवरणका आधारमा गलत कागजात तयार पारिदिएका थिए।
अख्तियारको टाेलीले स्थलगत मुचुल्का गर्दा उक्त जग्गामा घर नै नरहेको पाइएको हो। नापी कार्यालय कञ्चनपुरको टोलीको फिल्ड प्रतिवेदनमा समेत उक्त जग्गामा कुनै पनि पक्की भौतिक संरचना निर्माण नभएको खुलेको हो।
अख्तियारले बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव-इञ्जिनियर जय कुँवर र असिस्टेन्ट सव-इञ्जिनियर तेजबहादुर सुनारलाई मूल कसुरदार कायम गरेर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सजायकाे मागदाबी लिएकाे छ।
यस्तै, जग्गाधनी शान्ति नाथविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिमको कसुरमा हुने सजायलाई आधार मानी नगदी, जिन्सी, वा अन्य सुविधा एवं लाभ उपलब्ध गराई दिने र आफूले समेत लिने मतियार भएको हुँदा भ्रष्टाचार निवारण ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मूल कसुरदारहरूसरह सजायकाे मागदाबी गरिएको छ।
