मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

हराउँदै परम्परागत पानीघट्टको प्रचलन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
हराउँदै परम्परागत पानीघट्टको प्रचलन

स्थानीयका अनुसार पानीघट्टले पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुन्छ। प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहने उनीहरूको भनाइ छ।

भोजपुर- गाउँघरमा कुटानी-पिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्ट चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ। संरक्षण अभावमा पानीघट्टजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन्।

ओरालोमा पानीलाई कुलोमार्फत झारेर पंखा घुमाई ढुंगाको जाँतोको सहाराले मकै, गहुँ, कोदो, फापर, जौलगायत अन्न पिस्ने पानीघट्ट विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानी-पिसानी विधि थियो। गाउँघरका बासिन्दाले कुटानी-पिसानीका लागि सहज, सस्तो र सरल विकल्पका रूपमा पानीघट्टलाई अपनाउने गर्थे।

तर, अहिले पानीघट्ट चलाउने परम्परा हराउँदै गएको टेम्केमैयुङ-५ का वृद्ध बेनीबहादुर विष्ट बताउँछन्। 'अहिले पानीघट्टको चलन हराउँदै गएको छ,' उनले भने, 'पहिला टोलभरिका मानिस कुटानी-पिसानी गर्न पानीघट्ट आउने गर्थे, अहिले यो पुरानो चलन लोप हुँदै गएको छ।'

पानीघट्टमा कुटानी-सिपानी गर्दा विद्युतीय तथा डिजेल, पेट्रोलबाट सञ्चालन हुने मिलभन्दा सस्तो पर्ने टेम्केमैयुङ-५ मा पानीघट्ट सञ्चालन गर्दै आएका हरिबहादुर लम्सालले बताए। पछिल्लो समय पानीघट्ट चलाउने प्रचलन लोप हुँदै गएको उनले बताए।

आफूले भने परम्परागत सामग्रीको संरक्षण गर्ने लक्ष्यले पानीघट्ट चलाउँदै आएको उनको भनाइ छ। 'पानीघट्टमा पिसिएको अन्न स्वादिलो हुन्छ,' उनले भने, 'आधुनिक प्रविधिको विकाससँगै यस्ता परम्परागत सामग्री हराउँदै गइरहेका छन्, मैले भने परम्परा जोगाउन निरन्तर चलाइरहेको छु।'

उनले पानी प्रशस्त भएको समयमा पानीघट्टले दिनमा छदेखि आठ मुरीसम्म अन्न पिस्न सक्ने बताए।

स्थानीयका अनुसार पानीघट्टले पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुन्छ। प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहने उनीहरूको भनाइ छ।

तर, पछिल्लो पुस्ताले यस्तो परम्परागत साधनप्रति कम चासो देखाउँदै आएको छन्। परम्परागत सीप र पहिचान जोगाउन पानीघट्टको संरक्षण गर्न आवश्यक रहेको स्थानीयवासीको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१४:१६
  • सम्बन्धित विषय:

  • # पानीघट्ट
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend