पर्वत- विहादी गाउँपालिकाले व्यावसायिक रुपमा राँगापालन गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गर्ने भएको छ। कृत्रिम गर्भाधान सेवा गाउँ-गाउँमा विस्तार भए पनि किसान आकर्षित हुन नसकेको भन्दै राँगा पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको हो। प्रजननका लागि राँगा पालेका किसानलाई उक्त अनुदान उपलब्ध गराइने भएको हो।
ग्रामीण क्षेत्रमा कृत्रिम गर्भाधान सेवा प्रभावकारी नभएको र किसानले कृत्रिम गर्भाधानभन्दा परम्परागत रुपमा राँगाबाटै भैँसीलाई प्राकृतिक गर्भाधान लगाउने भएकाले राँगा पाल्ने किसानलाई पहिलोपटक अनुदान दिन थालिएको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा १५ जना किसानलाई अनुदान दिने कार्यक्रम रहेको छ।
राँगापालक किसानलाई प्रतिराँगा १० हजार रुपैयाँ प्रोत्साहन रकम अनुदान दिइने भएको छ। किसानहरूको हौसलास्वरूप यस वर्षदेखि १० हजार रुपैयाँदेखि कार्यक्रम अघि बढाउन थालिएको हो। आगामी आर्थिक वर्षदेखि यो रकम थप गर्दै लगिने अध्यक्ष गुरुङको भनाइ छ।
गाउँपालिकामा छ वडा रहेका छन्। प्रत्येक वडामा दुईदेखि तीन जनासम्म किसानले भैँसीलाई प्रजनन गराउने उद्देश्यले व्यावसायिक रूमा राँगा पाल्ने गरेका छन्। किसानले माग गरेको अवस्थामा जुनसुकै स्थानमा वा किसानको घरगोठमै राँगा लगेर सेवा दिने भएकाले उनीहरूलाई प्रोत्साहनको आवश्यकता देखिएको अध्यक्ष गुरुङको भनाइ छ।
गाउँपालिकाले लागू गरेको यो कार्यक्रमअन्तर्गत एकवटा प्रजननयोग्य राँगाका लागि प्रतिएकलाई १० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने उल्लेख छ। यसका लागि चालु आर्थिक वर्षमा एक लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिृकत थमनबहादुर रेश्मीले जानकारी दिए। उनका अनुसार अनुदान लिनका लागि राँगा पालकले निवेदन, नागरिकताको प्रतिलिपि र वडाको सिफारिस, फार्म दर्ता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
यसैगरी नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि, राँगा र प्रजननयोग्य राँगाको फोटो, अन्य संघसंस्थाबाट यसअघि अनुदान नलिएको घोषणापत्र, अनुदान पाएपछि तीन वर्षसम्म फार्म सञ्चालन गर्ने प्रतिबद्धतापत्रसमेत उल्लेख गर्नुपर्ने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
गाउँपालिकाले यस कार्यक्रमले स्थानीय किसानलाई राँगा प्रजनन व्यवसायमा प्रोत्साहन गरी पशुपालन व्यवसायलाई दिगो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ। गाउँपालिकाले यसअघि स्थानीय जातका गाई, दूध उत्पादन गर्ने उन्नत जातका गाईभैँसी पाल्ने किसानलाई समेत अनुदान उपलब्ध गराउँदै आएको छ।
कृषि र पशुपालनलाई बढी प्राथमिकतामा राखेको विहादीले यस वर्ष किसानलाई विभिन्न किसिमका चार करोड रुपैयाँभन्दा बढी अनुदानमूलक कार्यक्रम राखेको प्रमुख रेग्मीले जानकारी दिए। रासस
