बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गुल्मीमा घट्यो धान उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
गुल्मीमा घट्यो धान उत्पादन

गुल्मी-  यस वर्ष गुल्मीमा धान उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यस वर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ। 

गत वर्ष जिल्लामा २४ हजार चार सय २६ मेट्रिकटन धान उत्पादन भएको थियो। यसपटक जिल्लामा धानको उत्पादनसँगै धान रोपणको क्षेत्रफलसमेत घटेको सूचना अधिकारी न्यौपानेले बताए। 

गत वर्ष जिल्लामा सात हजार दुई सय ८८ हेक्टरमा क्षेत्रफलमा धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन घटेर छ हजार दुई सय ७० हेक्टरमा मात्र धान उत्पादन भएको छ। 
     
जिल्लामा पछिल्ला वर्षमा क्रमशः धानको उत्पादन र क्षेत्रफल घट्दै जान थालेको ज्ञान केन्द्रले जनाएको छ। यसरी उत्पादन र क्षेत्रफल घट्नुमा बेमौसमी वर्षा हुनु, लामो समय खडेरी पर्नु, गाउँबाट बसाइँसराइ बढ्दै जानु, उन्नत बीउ र रासायनिक मलको अभाव हुनु जस्ता कारण रहेकोे कार्यालयले जनाएको छ। 

गत वर्षभन्दा यसवर्ष बर्खे धान उत्पादनमा पनि आठ प्रतिशतले कमी आएको छ। जिल्लामा कुल छ हजार पाँच सय ८५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। त्यसअन्तर्गत चैते धान उत्पादनको क्षेत्रफल तीन सय १५ हेक्टर र बर्खे धान उत्पादनको क्षेत्रफल छ हजार दुई सय ७० हेक्टर रहेको छ। 

यस वर्ष चैते धान एक हजार दुई सय ८६ मेट्रिकटन र बर्खे धान २२ हजार तीन सय २३  मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिए। जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने फाँटहरूमा इस्माको चौरासी, सत्यवतीको जोहाङ्, उर्लीखोला र अस्लेवा कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, चन्द्रकोटको मजुवा, रूपाकोटलगायत रहेका छन्। 

त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाडको सुदी, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी र मदानेको सिर्सेनी छन्। धुुर्कोटको छल्दी तथा पनाहा, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ्, मनबागलगायतका फाँटमा पनि राम्रो धान उत्पादन हुने गर्दछ। 

जिल्लामा आयातीत चामलको गुणस्तर तथा मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा पछिल्लो समयमा धानको आयात बढ्दै गएको छ। गत वर्ष गुल्मीमा पाँच करोड रुपैयाँ मूल्यबराबरको चामल आयात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

जिल्लामा विशेषगरी हँसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मडियारे, रातोे मार्सी र मार्सिलगायत धानका जात किसानको रोजाइमा पर्ने गरेको छ। 

उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान किसानको रोजाइमा पर्ने गरेको हो। स्थानीय धानको भात खाँदा भोक कम लाग्ने, खानका लागि नरम र स्वादिलो हुने हुँदा यहाँका किसानले रैथाने धानको उत्पादनमासमेत निरन्तरता दिँदै आएका छन्। कृषि ज्ञान केन्द्रले पनि जिल्लामा यस्ता प्रकारका रैथाने जातका धानका बीउको संरक्षण गर्नुपर्नेमा किसानलाई जोड दिँदै आएको छ। रासस 


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१२:३३
  • सम्बन्धित विषय:

  • # धान
  • # धानखेती
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend