काठमाडौं- डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
ना ८ ख ७४५५ नम्बरको बस आज बिहान करिब ३ बजे लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको प्रहरीले जनाएको छ। बस पूर्वपश्चिम राजमार्ग हुँदै यात्रामा थियो।
वडा प्रहरी कार्यालय लमहीका अनुसार दुर्घटनापछि घाइते २२ जनालाई स्थानीयबासी र सुरक्षाकर्मीले उद्धार गरी लमही अस्पताल पठाइएको छ। बसमा कुल ३८ जना यात्रु सवार रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।