काठमाडाैं- अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाइ गरेपछि सन् २०२५ जनवरीदेखि हालसम्म ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ।
सामाजिक सञ्जाल एक्समार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि डाेनाल्ड ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिँदै यस्तो घोषणा गरेकाे जनाएको छ।
घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस् भन्ने शब्दहरूसहित राखिएको थियो, जसले कडा भिसा नियमन राष्ट्रिय सुरक्षा प्रयासहरूको केन्द्रबिन्दु हो भन्ने प्रशासनको तर्कलाई बलियो बनाएको छ ।
भिसा प्रणालीमा भएको कडाइलाई प्रस्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसामध्ये आठ हजारभन्दा बढी विद्यार्थीहरूको रहेको खुलासा गरेका छन्।
असुरक्षित गाडी चलाउनु, चोरी र आक्रमणजस्ता अपराधहरूका कारणहरू पहिचान गरी गत वर्ष अधिकाशं भिसा रद्द गरेको अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
विभागको विगतका स्पष्टीकरणहरूमा भिसा म्याद सकिने र आतंकवादलाई समर्थनलगायतका कारणहरूले भिसा रद्द गरिएको जनाइएको छ।
गाजा द्वन्द्वसँग सम्बन्धित विरोध प्रदर्शनमा भाग लिने अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि त्यस्तै गरी कडा छानबिनमा परेको जनाइएको छ।
यो कार्यले गत अगस्तमा उल्लिखित विभागको योजनाअनुरूप भएको र वैध अमेरिकी भिसा भएका पाँच करोड पचास लाखभन्दा बढी विदेशीहरूका लागि 'निरन्तर जाँच' प्रणाली लागू गर्न र देशमा बस्ने व्यक्तिहरूलाई निगरानी गर्ने उद्देश्यलाई कार्यन्वयन गरेको जनाइएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा विदेश विभागले भिसा आवेदनहरूको समीक्षा र भिसा भएकाहरूको अनुगमनका लागि आफ्नो मापदण्ड विस्तार गरेको छ।
प्रशासनले 'एच-१ बी' आवेदकहरूको जाँच पनि बढाएको छ, जुन विशेष विदेशी प्रतिभा खोज्ने अमेरिकी रोजगारदाताहरूका लागि एक प्रमुख कार्यक्रम हो।
विस्तारित भिसा रद्द, तीव्र जाँच र फराकिलो छानविनले आप्रवासन नियन्त्रणलाई कडा बनाइ आप्रवासीहरूबीचमा भएको उल्लंघनलाई थप चुस्त दुरुस्त बनाउने प्रशासनको व्यापक दबाबलाई चित्रण गर्दछ । रासस/एएनआई
