बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नागढुंगा-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरेर विस्तार गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २४ २०८२
नागढुंगा-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरेर विस्तार गरिँदै

सडक कालोपत्रे गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुंगा-मुग्लिन सडक आयोजनाले आजदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द गरेकाे हाे।

धादिङ- नागढुंगा-मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर सडक विस्तारको कामलाई तीव्रता दिइएको छ। 

सडक कालोपत्रे गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुंगा-मुग्लिन सडक आयोजनाले आजदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द गरेकाे हाे।

सडक आयोजनाले निकालेको सूचनाअनुसार नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०:३० देखि अपराह्न ३:३० बजेसम्म सडक आवागमन बन्द गरेको छ। यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको नागढुंगा-मुग्लिङ सडक आयोजनाका इन्जिनियर केशव ओझाले जानकारी दिए।

एकैपटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने र त्यसबेला दुर्घटनाको जोखिम बढ्ने भएकाले आंशिक रूपमा सडक बन्द गरेर काम गर्न लागिएको उनले जानकारी दिए। धादिङको गल्छी-गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ। 

त्रिभुवन राजपथको नागढुंगा-नौबिसे सडकखण्ड कालोपत्रे गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ। काठमाडौं जिल्लाभित्र पर्ने नागढुंगा-पिप्लामोड खण्ड कालोपत्रे उच्च प्राथमिकतामा राखिएको छ।

नागढुंगा-पिप्लामोड खण्डका लागि काठमाडौंतर्फबाट आउने सवारीसाधनलाई नागढुंगा चेकपोस्टमा र गल्छीबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई खानीखोला तथा जुँगेखोलामा रोकिएको छ। गल्छी-गजुरी खण्डका लागि नौबिसेतर्फबाट आउने सवारीसाधनलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतबाट नौबिसेतर्फ आउने सवारीसाधनलाई मलेखु क्षेत्रमा रोकिएको छ।

अत्यावश्यक अवस्थामा साना तथा मझौला गाडीले सीतापाइला-भीमढुंगा-रामकोट-धार्केको सडक प्रयोग गर्न सक्नेछन्। सामाखुसी-टोखा-छहरे हुँदै गल्छी निस्कने र जरेखेतबाट त्रिशूलीको पुल तरेर घाटबेँसीको पुल निस्कने वैकल्पिक बाटो पनि प्रयोग गर्न सकिनेछ।

एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शववाहनजस्ता अत्यावश्यक गाडी भने पनि सडक चौडा गर्नका लागि काटिएको पहराबाट सडकमा ढुंगा-माटो थुप्रिएकाले आउजाउ गर्न सकिने अवस्था छैन। रासस


प्रकाशित : बुधबार, मंसिर २४ २०८२१५:३५
  • सम्बन्धित विषय:

  • # नागढुंगा-मलेखु सडक
  • # पृथ्वी राजमार्ग
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend