बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युतीय ब्रान्डसहित चौधरी समूह अटोमोबाइल व्यापारमा प्रवेश

सीजी मोटर्सले होजोन अटो र साइनरेका सवारी ल्याउँदै

बुधबार, फागुन २५ २०७८
विद्युतीय ब्रान्डसहित चौधरी समूह अटोमोबाइल व्यापारमा प्रवेश

होजोन न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड विश्व विख्यात अटोमोबाइल कम्पनीमा काम गरिसकेका अनुभवी प्रविधिक तथा दक्ष व्यक्तिहरुको समूहले स्थापना गरेको कम्पनी हो। 

काठमाडौं- विभिन्न व्यवसायमा संलग्न अर्बपति व्यवसायी विनोद चौधरीको व्यवसायिक समूह पनि सवारी व्यापारमा प्रवेश गरेको छ। विगतदेखि नै सवारी व्यवसायमा आउन चाहेको चौधरी समूह विद्युतीय सवारीसहित अटोमोबाइल व्यवसायमा आउने भएको हो।

भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्डसहित नेपाली अटोमोबाइल बजारमा प्रवेश गर्ने भएको छ। चौधरी समूह अटोमोबाइल व्यवसायमा 'सीजी मोटर्स' नामक फर्ममार्फत अघि बढेको हो।

सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटो (होजोन अटो न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड) का क्रसओभर कार नेपाली बजारमा ल्याउँदै छ। हाल उक्त कम्पनी निटा अटोका रुपमा समेत परिचित रहेको छ। कम्पनीले उत्पादन गरेका विभिन्न मोडलका विद्युतीय कार नेपालमा उपलब्ध गराउने तयारी सीजी मोटर्सको छ।

विनोद चौधरीसँगै उनका छोरा निर्वाण अटोमोबाइलमा निकै रुची राख्छन्। त्यसैले पनि निर्वाण चौधरी धेरै अघिदेखि अटोमोबाइल व्यवसायमा आउन चाहन्थे। अहिले विद्युतीय सवारीको माग बढ्दै गएकाले चौधरी समूह विद्युतीय सवारी व्यवसायमा आएको हो। नेपालका अधिकांश व्यवसायिक घराना अटोमोबाइल व्यवसायमा संलग्न रहेका छन्।

न्यू इनर्जी सवारी आयात गर्ने निष्कर्षमा पुगेपछि चौधरी समूहले धेरै रेन्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराउने चाहना पूरा गर्न चिनियाँ कम्पनी रोजेर सम्झौता पनि गरे।

विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। अमेरिकी विद्युतीय कार उत्पादक टेस्लासमेत अमेरिकापछि बाह्य विश्वमा आफ्नो पहिलो प्लान्ट लिएर चीन नै पुग्यो।  

Neta-V.png

होजोन न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड विश्वविख्यात अटोमोबाइल कम्पनीमा काम गरिसकेका अनुभवी प्राविधिक तथा दक्ष व्यक्तिहरूको समूहले स्थापना गरेको कम्पनी हो। 

होजोन अटो सन् २०१४ मा स्थापना भएको थियो। चीनको झेजियाङ प्रान्तमा यो कम्पनी खुलेको हो। यो कम्पनीले अमेरिकाको सिलिकन भ्यालीमा अटोनोमस भेहिकल रिसर्च सेन्टर २०१८ मा स्थापना गरेको थियो।

होजोन अटोमोबाइल चिनियाँ विद्युतीय सवारी उत्पादकहरूमा टेप ब्रान्डमा पर्दछ। होजोनको मुख्य विशेषता भनेको उच्च प्रविधियुक्त सवारी र सवारीले दिने माइलेज नै हो।

होजोन अटोले निता ब्रान्डका कार उत्पादन गर्दै आएको छ। कम्पनीले सन् २०१७ मा पहिलो पटक आफ्नो कन्सेप्ट कार सार्वजनिक गरेको थियो। कम्पनीले २०१८ मा निटा एओ १, २०२० मा निटा यू र निटा भी र २०२१ मा निटा यू प्रो र नेटा भी प्रो सार्वजनिक गरेको थियो।

त्यस्तै कम्पनीले २०२२ मा दुई वटा कार निटा एस र निटा भी २०२२ सार्वजनिक गरिसकेको छ। त्यस्तै यही वर्ष अर्को कारसमेत सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले उत्पादन गरेका कारले एक पटकको फुल चार्जमा ४ सयदेखि ६ सय किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ।

होजोन अटोमोबाइलले २०२१ मा विभिन्न कम्पनीहरूसँग रणनीतिक साझेदारीको सम्झौता गरेको थियो। कम्पनीले सेन्स टाइम, होराइजन, रोबोटिक्स, हुवावे, सीएटीएल, थाइल्यान्ड पीटीटीसँग रणनीतिक साझेदारी गरेको हो। सीएटीएल विश्वको सबैभन्दा ठूलो विद्युतीय कारको ब्याट्री उत्पादक कम्पनी हो।

नेपाली बजारमा दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय चारपांग्रे सवारी बिक्री हुँदै आएको छ। यसमा परम्परागत ब्रान्डका विद्युतीय सवारीदेखि चिनियाँ ब्रान्डका सवारीसम्म समावेश छन्। ठूलो कर्पोरेट घराना चौधरीसमूह समेत विद्युतीय सवारीमा प्रवेश गरेपछि न्यू इनर्जी सवारीको बजार विस्तार हुने अनुमान गर्न सकिन्छ।

साइनरेका भ्यान र पिकअप

shineray logo.jpg

सीजी मोटर्सले प्यासेन्जर कारसँगै साइनरेका भ्यान र पिकअप समेत ल्याउने भएको छ। कम्पनीले साइनरे ग्रुपले उत्पादन गरेका ११ देखि १४ सिट क्षमताका भ्यान र सोही कम्पनीले उत्पादन गरेका १ देखि २.५ टन क्षमताका पिकअप ल्याउने भएको हो।

shine ray x30l.jpg


प्रकाशित : बुधबार, फागुन २५ २०७८०४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend