शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

छात्रा शिक्षामा योगदान गर्दै शिवम् सिमेन्ट, १०४ जनालाई दियाे छात्रवृत्ति

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २४ २०८२
छात्रा शिक्षामा योगदान गर्दै शिवम् सिमेन्ट, १०४ जनालाई दियाे छात्रवृत्ति

विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट लिइँदै आएको आठ महिनाको शुल्कबापत हुन आउने रकम मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा हस्तान्तरण गरिएको थियो।

काठमाडौं- सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गर्दै हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडले छात्रालक्षित छात्रवृत्ति प्रदान गरेको छ।

कम्पनीले हेटौंडा-१७, हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीहरूका लागि चालु शैक्षिक सत्रका लागि छात्रवृत्ति प्रदान गरेको हो। 

विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट लिइँदै आएको आठ महिनाको शुल्कबापत हुन आउने रकम मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा हस्तान्तरण गरिएको थियो। १७ नं. वडाका जनप्रतिनिधि, शिवम् सिमेन्टका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापकलगायतको उपस्थितिमा छात्रवृत्ति हस्तान्तरण गरिएको हो। 

02 shivam.jpg

कम्पनीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ। उक्त छात्रवृत्तिले छात्राहरूको मनोबल उच्च हुनुका साथै विद्यालयमा छात्रा उपस्थितिमा वृद्धि हुने विश्वास लिइएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा सहयोग पुर्‍याएकोमा शिवम् सिमेन्ट लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै यस किसिमको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने बताए। साथै उद्योग वि.सं. २०६८ सालमा स्थापना भएदेखि विद्यालयसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी शैक्षिक सत्रदेखि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिदिन आग्रह पनि गरे।

यसअघि पनि शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा कम्पाउण्ड वाल निर्माण, स्कुल बसको व्यवस्था तथा कम्प्युटर, प्रिन्टरलगायतका शैक्षिक सामग्री सहयोग गर्दै आएको जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर २४ २०८२१३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend