बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नमुना परीक्षण गरिएका ५४ प्रतिशत कुखुरामा ‘एनेमिया भाइरस’को संक्रमण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २४ २०८२
नमुना परीक्षण गरिएका ५४ प्रतिशत कुखुरामा ‘एनेमिया भाइरस’को संक्रमण

यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ। जसले गर्दा अन्य रोगहरूले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए।

चितवन- चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ। कार्यालयले गत साउनदेखि काक्तिकसम्म गरेको अध्ययनका त्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो। 

राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमुनामध्ये ५४ प्रतिशतमा यो रोगको संक्रमण देखिएको हो। 

जिल्लामा पहिलोपटक गत आर्थिक वर्षमा यो रोगको संक्रमण देखिएपछि कार्यालयले अध्ययन सुरु गरेको थियो। अध्ययनका क्रममा चितवनसहितका जिल्लामा यो समस्या देखिएको उनले बताए। चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिइएको नमुनामा यो रोग देखिएको हो।  

यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ। जसले गर्दा अन्य रोगहरूले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए। उनले भने, ‘प्रत्यक्ष रूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ।’ 

यस रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखा पर्दछन्। उनले भने, ‘कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रूपमा पर्ने भएकाले बेवास्ता गर्नुहुँदैन।’ 

कुखुरालाई यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरसविरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए। ब्रोइलरको माउमा र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उनले बताए।

चितवनसहित १६ जिल्लाबाट संकलित नमुना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ। जैविक सुरक्षाको अभावमा संक्रमण देखिने गरेको उनले बताए। 

अहिले कुखुरामा इन्फ्लुएन्जाको एच ९ को संक्रमण देखिने समय भएकाले सबै कुखुरापालक किसानहरूलाई यसबाट सचेत रहन उनले आग्रह गरे। यसका लागि फार्ममा दाना, पानी, औषधि, भुसलगायतका सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउँछन्। बजारमा निःसंक्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसंक्रमण गर्नुपर्ने हुन्छ। रासस

 


प्रकाशित : बुधबार, मंसिर २४ २०८२१३:१६
  • सम्बन्धित विषय:

  • # पशुपालन
  • # कुखुरा
  • # एनेमिया भाइरस
  • # कुखुरापालन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend