मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

मेचीदेखि महाकालीसम्म भन्सार एजेन्टहरूको आन्दोलन : जाँच-पास ठप्प, आयात-निर्यात प्रभावित

बुधबार, मंसिर २४ २०८२
मेचीदेखि महाकालीसम्म भन्सार एजेन्टहरूको आन्दोलन : जाँच-पास ठप्प, आयात-निर्यात प्रभावित

मंसिर २० गतेदेखि लागू भएको संशोधित भन्सार ऐन, २०८२ का केही प्रावधानविरुद्ध एजेन्टहरूले ‘पेन डाउन’ गरेका हुन्।

काठमाडौं- मेचीदेखि महाकालीसम्मका सम्पूर्ण भन्सार नाकामा भन्सार ‘एजेन्ट’को आन्दोलनले जाँच-पास प्रक्रिया ठप्प भएको छ। मंसिर २० गतेदेखि लागू भएको संशोधित भन्सार ऐन, २०८२ का केही प्रावधानविरुद्ध एजेन्टहरूले ‘पेन डाउन’ गरेका हुन्।

मंगलबार पेट्रोलियम पदार्थ बाहेक अन्य सबै वस्तुको भन्सार प्रक्रिया ठप्प रह्यो। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले ऐनका अव्यावहारिक प्रावधानले व्यापार प्रभावित भएको बताए। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको र आजदेखि जाँच-पास सामान्य हुनेमा आशावादी रहेको जानकारी दिए।

एजेन्टहरूले ऐनको दफा ७१(झ) अनुसार मानवीय त्रुटिमा पनि १० प्रतिशत जरीवाना लाग्ने प्रावधान अव्यावहारिक भएको भन्दै विरोध जनाएका छन्। अनलाइन प्रणालीमा कागजात अपलोड गर्दा वा तथ्यांक प्रविष्ट गर्दा हुने सामान्य गल्तीमा ठूलो सजाय हुने व्यवस्था हटाउन उनीहरूको माग छ।

भन्सार नाकामा अनधिकृत रूपमा काम गर्ने भारतीय नागरिकमाथि नियन्त्रण नगरेको, नेपाली एजेन्टमाथि मात्र कडाइ हुने गरेको गुनासो गर्दै सुधार नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले विवादित प्रावधान संसद्ले पारित गरेको ऐनमा रहेकोले विभागले तत्काल केही गर्न नसक्ने बताए। उनले अन्य प्राविधिक विषयमा भने विभाग सकारात्मक रहेको जानकारी दिए।

अधिकारिक प्रतिनिधि भन्सार एजेन्टले आयात-निर्यातको घोषणा गर्दै शुल्क संकलन, तस्करी नियन्त्रण र बौद्धिक सम्पत्ति संरक्षणका अन्तर्राष्ट्रिय दायित्व पूरा गर्छन्। अहिलेको ऐनले उनीहरूको भूमिकामा अत्यधिक जरीवाना थपेर काम गर्नै नसक्ने वातावरण बनाएको महासंघको तर्क छ।

अधिकारिक लिखित प्रतिबद्धता नआएसम्म देशभरका भन्सार कार्यालयमा ‘पेन डाउन’ जारी रहने महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर २४ २०८२१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend