काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले बुधवार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण समारोहमा शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई 'सहयात्री' को रुपमा अब ऊर्जा विकासका सबै कार्यक्रम मिलेर अघि बढाइने स्पष्ट पारे।
शाक्यले विगतमा आफूलाई एक वर्ष पनि पर्याप्त रुपमा काम गर्ने वातावरण नपाएको उल्लेख गर्दै अब बाँकी ३ वर्ष ६ महिनाको कार्यकाललाई पूर्णरुपमा ऊर्जा विकासमा समर्पित गर्ने घोषणा गरे। 'अहिलेकै मन्त्री पनि ऊर्जा क्षेत्रकै हुनुहुन्छ, मिलेर काम गर्दा परिणाम राम्रो आउनेछ। अबको कार्यकाल अझ मिहिनेतका साथ अघि बढाउँछु,' उनले भने।
उनले आफ्नो प्राथमिकतासमेत सार्वजनिक गर्दै प्राधिकरणको प्रणाली सुधार, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति, तथा प्राधिकरणको अग्रसरतामै विद्युत् आयोजना निर्माणलाई केन्द्रमा राखी काम गर्ने बताए। 'नेपाल सरकारको नीति–निर्देशन अनुसार अघि बढ्छु। स्थिर, गुणस्तरीय र निरन्तर विद्युत आपूर्तिका लागि प्रणाली सुधारमै अधिकतम ध्यान दिन्छु,' शाक्यले भने।
गत वर्ष प्राधिकरणबाट हटाइएकै प्रसंग उल्लेख गर्दै उनले व्यक्तिगत पीडाले आफूलाई रोक्न नसक्ने बताए। 'प्राधिकरणकै भएकोले मेरो घर जल्यो, म पीडामा परेँ। तर त्यही पीडामा बस्दिन, काममै अघि बढ्छु। संस्थाको हितमा अधिकतम गर्छु,' शाक्यले भावुक हुँदै भने।
सर्वोच्च अदालतले सोमबार शाक्यलाई कार्यकारी निर्देशकको पदमा पुनर्स्थापना गर्न आदेश दिएको थियो। न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले कार्यकारी निर्देशक मनोज सिलवालको नियुक्ति बदर गर्दै शाक्यलाई पुनः पदमा फर्काउन निर्देशन दिएको हो।
जेनजी आन्दोलनको प्रभावपछि ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले शाक्यलाई गत असोज ५ गते जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए। सरुवाविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गर्दै न्यायिक उपचार खोजेका थिए।